Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १२  बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १२  बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ  १२ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    स्काइलाइन इन्फ्रा लिमिटेडले आईपीओ जारी गर्न तयारी, हिमालय सेक्युरिटिजसँग सम्झौता

    काठमाडौँ ।  स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गर्दै हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग मर्चेन्ट बैंकिङ सम्झौता गरेको छ। यस सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा, पूँजी संरचना सुदृढीकरण तथा भविष्यमा हुने व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

    सम्झौतामा स्काइलाइन इन्फ्राको तर्फबाट संस्थापक तथा सञ्चालक मण्डलका सदस्यहरू राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) उपस्थित थिए। त्यस्तै, वडा कार्यालयका वडाअध्यक्ष सुशिल कुमार कानु, लेखापरीक्षक सिद्धान्त झुन्झुन्वाला तथा कानूनी सल्लाहकार कमलमोहन पोखरेल पनि सहभागी थिए। हिमालय सेक्युरिटिज बैंकर लिमिटेडतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले सम्झौता हस्ताक्षर गरेका थिए।

    शेयर बजार : नेप्से परिसूचक ३७.१० अंकले घटेर २,७८२.०० बिन्दुमा, करिब ८ अर्ब ९५ लाख ६१ हजार बढीको कारोबार

    काठमाडौँ । मंगलबार (भदौ ११ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २,७८२.०० बिन्दुमा बन्द भएको छ, जसले ३७.१० अंकले घटेर १.३१ प्रतिशतको गिरावट देखाएको छ।

     

    आज कूल कारोबार रु ८ अर्ब ९५ लाख ६१ हजार ०४५.९९ भन्दा बढीको भएको छ भने कुल १७,८९१,९१७ कित्ता सेयर किनबेच भएका छन्।

    आज बजारमा २४ कम्पनीका सेयर मूल्य बढेका छन्, २२७ कम्पनीका सेयर मूल्य घटेका छन् र कुनै कम्पनीका सेयर मूल्य यथावत् रहेन।

    प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित

    जनकपुरधाम । प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ ।

     

    आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिनुभएको थियो ।

    प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गर्नुभयो । उहाँले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थिति बिना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताउनुभयो ।

    आइजिन विवादले जलविद्युत क्षेत्रको शेयर कारोबारमा असर, लगानीकर्ताको आकर्षण घट्दै

    काठमाण्डाै । ‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर)को विवादले दोस्रो बजारमा जलविद्युत क्षेत्रको शेयर कारोबारमा गम्भीर प्रभाव पारेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार साउन महिनामा जलविद्युत क्षेत्रको शेयर कारोबार मात्र एक खर्ब ६ अर्ब रुपैयाँ भएको छ, जुन असार महिनाको भन्दा ३.१५ प्रतिशत कम हो।

     

    साउन महिनामा कुल दुई खर्ब ८९ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा जलविद्युत क्षेत्रको हिस्सा ३६.७२ प्रतिशत मात्र रह्यो। तुलनात्मक रूपमा असारमा यो हिस्सा ५१.७२ प्रतिशत थियो। वैशाख महिनामा यो प्रतिशत ५५ भन्दा बढी थियो। यसरी, जेठदेखि बिस्तारै घट्दै आएको कारोबार साउनमा अझै घटेको छ। भदौमा भने कुल कारोबारमा जलविद्युत क्षेत्रको हिस्सा ३० प्रतिशत मुनि झरेको छ।

    निजी विद्यालय सञ्चालक र शिक्षक महासङ्घद्वारा विधेयक सच्याउन दबाब, विद्यालय बन्दको चेतावनी

    काठमाण्डाै । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

     

    निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विधेयकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउनुपर्ने माग राखेका छन्।

    यस्तै, नेपाल शिक्षक महासङ्घले पनि प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै विगतमा भएको सहमति अनुसार हिजो नेपाली कांग्रेसको कार्यालय घेरा घरेको थियो भने आज नेकपा एमालेको कार्यालय घेराउ गरेको छ।

    राष्ट्र बैंकको तथ्यांक र वास्तविक बजार अवस्था फरक: उपभोक्तामाथि महंगीको भार अझै कायम

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्यांक अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको देखाइएको छ। अघिल्लो वर्षको तुलनामा केही कमी देखिएको यो तथ्यांकले बजार र आम नागरिकको भोगाईसँग मेल खाएको देखिँदैन। विशेषज्ञ र उपभोक्ता समूहका अनुसार, तथ्यांकमा दवाव र चलखेल भएको आरोप छ, जसले वास्तविक स्थिति लुकाउने काम गरेको छ।

     

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार, “बजारमा उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत हाराहारीमा पुगेको छ। तथ्यांकमा ३.७ प्रतिशत देखाउन दवाव दिइएको थियो। प्रस्तुत तथ्यांक वास्तविक होइन, नागरिकलाई गुमराह बनाउने काम भइरहेको छ।”

    बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री नगरेसम्म त्यहाँबाट लाभांश नपाउने

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री नगरेसम्म त्यहाँबाट लाभांश नपाउने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेका संस्थापक सेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर लाभांश वितरण रोक्का राख्ने जनाएको छ ।

     

    राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२ जारी गरी  यस्तो व्यवस्था गरेको हो ।सो कार्यविधिको खण्ड खमा लाभांश स्वीकृति सम्बन्धमा गरिएको व्यवस्था ४मा यस्तो उल्लेख गरिएको छ ।

    चीनका उपमन्त्री लिजुनले अर्थमन्त्री पौडेललाई भेटेर व्यापार र पुल र सडक पुनर्निर्माणबारे गरे छलफल

    काठमाडौँ ।  चीनका उपमन्त्री लिजुनले उपप्रधान तथा अर्थमन्त्री पौडेललाई भेटेर व्यापार र पुल र सडक पुनर्निर्माणबारे गरे छलफल गरेका छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गरेको शिष्टाचार भेटको क्रममा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले सो विषयमा छलफल गरेका हुन् ।

     

    भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरुको व्यवस्थापन, बाढीले क्षति पु¥याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ ।

    इनड्राइभ नेपालको दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर

    काठमाडौँ । नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

    त्रिभुवन विमानस्थलको भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति र अख्तियार दुवै सक्रिय तर नतिजा शून्य

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा भएको मानव तस्करी प्रकरण सुरुमा विपक्षी दलले पनि उच्च सतर्कता देखाए पनि अहिले विस्तारै सेलाउँदै गएको छ। प्रकरणको अनुसन्धान र सुधारका लागि सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन तथा अध्ययन समिति गठन गरेको थियो।

     

    समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्य सचिव रहेका छन्। समिति असार १८ गतेदेखि काममा लागेको थियो।

    विद्यार्थी र पत्रकार लामाे समय अमेरिकामा बस्न नपाउने ट्रम्पको निर्णय

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी नागरिकको अमेरिका बसाइसम्बन्धी नयाँ नियम प्रस्ताव गरेको छ। यस अनुसार, विदेशी विद्यार्थीले अमेरिकामा अधिकतम चार वर्षसम्म मात्र अध्ययन गर्न सक्नेछन्।

     

    विदेशी पत्रकारको बसाइ पनि सीमित गरिनेछ। उनीहरूलाई २४० दिनको भिसा दिइनेछ, र आवश्यक परे थप २४० दिनको समयावधिका लागि आवेदन गर्न सक्ने व्यवस्था हुनेछ।

    तर, चिनियाँ पत्रकारहरूका लागि विशेष व्यवस्था अनुसार, उनीहरूलाई केवल ९० दिनको भिसा प्रदान गरिनेछ। यो कदमले अमेरिकी प्रशासनको विदेश पत्रकार र विद्यार्थी नीतिमा नयाँ कडाइ ल्याउने अपेक्षा गरिएको छ।

    डाक्टर गोविन्द केसी भोक हडतालमा फर्कदै, निजी मेडिकल कलेजमा सीट वृद्धि निर्णयविरुद्ध विरोध

    डाक्टर गोविन्द केसीले आइतबार, १ सेप्टेम्बर (भद्र १५) बाट भोक हडताल सुरु गर्ने घोषणा गरेका छन्।

     

    लामो समयदेखि मेडिकल शिक्षामा सुधारका लागि भोक हडताल र दबाब अभियान चलाइरहेका केसीले भर्खरै सरकारले निजी मेडिकल कलेजमा सीट बढाउने निर्णय गरेपछि आफ्नो विरोध फेरि सुरु गर्न लागेका बताएका छन्।

    उहाँले उक्त निर्णय फिर्ता लिन माग गर्दै आउनुभएको हो र तर्क गर्नुभएको छ कि नयाँ सीटहरू सरकारी कलेजमा विस्तार हुनुपर्छ। सरकारले निजी कलेजलाई प्राथमिकता दिएको निर्णयप्रति आलोचना पनि उठेको छ।

    भविष्यमा अध्यक्ष बनाउने विषयमा ओलीसँग सहमति थियो, तर चीन भ्रमणपछि परिस्थिति बदलियो : प्रचण्ड

    काठमाडौं/विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन संविधान र कानुनले रोक्दैन भनी स्पष्ट बताएका छन्।

     

    पूर्वराष्ट्रपति भण्डारीले एमाले पार्टीमा सदस्यता नवीकरण गरे पनि साउनको केन्द्रीय कमिटी बैठकले उक्त सदस्यता खारेज गरेको थियो। यसले उनलाई एमालेभित्र सक्रिय हुन रोक लगाएको देखिन्छ।

    अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै भने, “विश्वमा धेरै उदाहरण छन्, जसमा राष्ट्रपति वा प्रधानमन्त्री भएपछि पनि राजनीतिमा फर्केका छन्। राष्ट्रपति मेयर समेत भएका उदाहरण छन्। हाम्रो संविधान र ऐनले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनू भनेको छैन।”

    चाडपर्व सुरु भएसँगै अण्डाको मूल्य बढ्यो

    चितवन। चाडपर्व सुरु भएसँगै अण्डा खपतमा वृद्धि भएको छ। उत्पादन घट्दा र माग बढ्दा अण्डाको मूल्यमा उल्लेखनीय वृद्धिसमेत देखिएको छ।

     

    नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गरेको जनाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, आगामी बिहीबारदेखि ठूलो अण्डा (३० वटा) रु ५४५ र मझौला अण्डा रु ५३० कायम हुनेछन्। यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ निर्धारण गरिएको छ।

    हाल नेपालमा अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँ पाउनेछन्। लामो समयसम्म लागत मूल्य नपाएका किसानका लागि यसले राहतको अनुभूति दिलाउनेछ।

    क्यासलेस अर्थतन्त्रतर्फको तीव्र प्रगतिमा नेपाल : पाँच वर्षमा क्युआर भुक्तानी ४७ गुणा बढ्यो, प्रत्येक सेकेण्ड १० वटा भुक्तानी हुने अवस्था

    काठमाडौँ।केही वर्षअघिसम्म साना–ठूला अधिकांश भुक्तानी नगदमै हुने गर्थे । तर अहिले भने इलेक्ट्रोनिक भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा बढ्दै, मुलुक क्यासलेस अर्थतन्त्रतर्फ अघि बढिरहेको छ ।

     

    नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक विवरण अनुसार गत आर्थिक वर्षमा मात्रै एक अर्ब ८४ करोडभन्दा बढी इलेक्ट्रोनिक ट्रान्जेक्सन भएका छन् । यसरी भएका भुक्तानीमार्फत ९८४ खर्ब रुपैयाँभन्दा बढीको लेनदेन भएको देखिन्छ । हाल नेपालमा १६ प्रकारका इलेक्ट्रोनिक भुक्तानी प्रणाली सञ्चालनमा रहेका छन् ।

    नयाँ राष्ट्रिय युवा नीति–२०८२ अनुसार युवाको उमेर समूह अब १८ देखि ३५ वर्ष

    काठमाडौँ ।युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

     

    यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।

     

    २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२।५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताउनुभयो ।

    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

    काठमाडौँ।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।

     

    वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij