
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १९ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
१ अर्ब ६१ करोडभन्दा बढी संस्थापक सेयर सूचीकृतको पर्खाइमा, दुईवटा आईजिन प्रस्तावले पुँजीबजार अन्योलमा
काठमाडौं । २०८१ माघयता करिब एक दर्जन कम्पनीले प्राथमिक सेयर (IPO) निष्कासन गरिसके पनि तिनका संस्थापक सेयर भने अहिलेसम्म सूचीकृत हुन सकेका छैनन् । सीडीएस एन्ड क्लियरिङ हाउस (CDSC) को दुईवटा आईजिन (ISIN) प्रस्तावका कारण १ अर्ब ६१ करोड १७ लाख ८७ हजार ४५६ कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा रहेका छन् । यसले नयाँ कम्पनीदेखि लगानीकर्तासम्म सबैलाई प्रभावित पारिरहेको छ।
संस्थापक सेयर सूचीकृतमा ढिलाइ हुनुका कारण बजारमा अनावश्यक अन्योल बढेको छ । सर्वसाधारणमा जारी भएका सेयर सीडीएससीमा सूचीकृत भए पनि संस्थापक सेयर भने सूचीकृत हुन सकेका छैनन् । यसमा ६ वटा जलविद्युत कम्पनी, उत्पादन, होटल–पर्यटन, लघुवित्तलगायत समूहका कम्पनी परेका छन्।
शेयर बजार : नेप्से परिसूचक ०.८६ अंकले घटेर २,७२५.४६ बिन्दुमा, ५ अर्ब १४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज बुधबार शेयर बजारमा नेप्से परिसूचक सामान्य गिरावट आएको छ । परिसूचक ०.८६ अंकले घटेर २,७२५.४६ बिन्दुमा कायम भएको छ ।
आज कूल कारोबार रकम ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँ ७५ पैसा पुगेको छ भने कुल १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । यस अवधिमा जम्मा ३१७ वटा कम्पनीका शेयर कारोबार भएका छन् ।
आज बजारमा ९८ कम्पनीका शेयर बढेका, १५२ कम्पनीका घटेका र १ कम्पनीका शेयर स्थिर रहेका छन् ।
सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुभयो ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।
होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह
काठमाडौँ । जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सङ्घले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
ठमेल र दरबारमार्गका होटललाई २४सै घण्टा सञ्चालन गर्न दिने वातावरण निर्माण भएको बेलामा नयाँबसपार्क, सुन्धारा, गौशाला, बागबजार, कलंकीलगायतका होटल पनि रातको १२ बजेसम्म सञ्चालन हुने वातावरण बनाईदिन सङ्घले प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ ।
डिजिटल भुक्तानीलाई थप परिमार्जन गर्न भुक्तानी तथा फर्स्यौट ऐनमा संशोधनको तयारी
काठमाडौँ । सरकारले भुक्तानी तथा फर्स्यौट ऐन–२०७५ लाई संशोधन गर्न लागेको छ । अर्थमन्त्रालयले सो ऐन लाई संशोधन गर्न ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) ऐन, २०८२’ को मस्यौदा तर्जुमा गरेको हो । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको बुँदा नं. ३२२ मा नेपाल राष्ट्र बैंक सम्बन्धी कानुनमा सामयिक सुधार गरिने नीतिगत व्यवस्था छ ।
उक्त नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ मा रहेको व्यवस्थालाई अद्यावधिक(अपडेट) गर्नु परेकाले विधेयक तर्जुमा गरिएको जनाइएको छ ।
१ अर्ब ६१ करोडभन्दा बढी संस्थापक सेयर सूचीकृतको पर्खाइमा, दुईवटा आईजिन प्रस्तावले पुँजीबजार अन्योलमा
काठमाडौं । २०८१ माघयता करिब एक दर्जन कम्पनीले प्राथमिक सेयर (IPO) निष्कासन गरिसके पनि तिनका संस्थापक सेयर भने अहिलेसम्म सूचीकृत हुन सकेका छैनन् । सीडीएस एन्ड क्लियरिङ हाउस (CDSC) को दुईवटा आईजिन (ISIN) प्रस्तावका कारण १ अर्ब ६१ करोड १७ लाख ८७ हजार ४५६ कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा रहेका छन् । यसले नयाँ कम्पनीदेखि लगानीकर्तासम्म सबैलाई प्रभावित पारिरहेको छ।
संस्थापक सेयर सूचीकृतमा ढिलाइ हुनुका कारण बजारमा अनावश्यक अन्योल बढेको छ । सर्वसाधारणमा जारी भएका सेयर सीडीएससीमा सूचीकृत भए पनि संस्थापक सेयर भने सूचीकृत हुन सकेका छैनन् । यसमा ६ वटा जलविद्युत कम्पनी, उत्पादन, होटल–पर्यटन, लघुवित्तलगायत समूहका कम्पनी परेका छन्।
लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का
पाटन (ललितपुर)।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताउनुभएको छ । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आज ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत्् पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै रोजगारी सृजना हुने र जनताले स्मरण गर्न सक्नेगरी काम हुन सकोस् भन्नेमा जोड दिनुभयो । “देशका कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा बिजुली पुर्याउने काम असाधारण उपलब्धि हो, यसका लागि यस समाजले खेलेको भूमिका र गतिविधि प्रशंसा योग्य छन्, हाल देशभर करिब दुई हजार सङ्घसंस्था तथा व्यक्ति संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत्् परियोजनाबाट विद्युत्् उत्पादन भइरहेको अवस्था छ, यो सराहनीय काम हो,” उहाँले भन्नुभयो ।
अमेरिकी संघीय अदालतको फैसला : प्रयोगकर्ताको डेटा गोपनीयता उल्लङ्घन गरेको ठहरसहित गुगललाई ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश
काठमाडौँ । अमेरिकी संघीय अदालतले गुगललाई प्रयोगकर्ताको गोपनीयता भंग गरेको ठहर गर्दै ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले गुगलले लाखौं प्रयोगकर्ताको व्यक्तिगत डेटा सङ्कलन गरी सुरक्षित राख्न नसकेको र दुरुपयोग हुने अवस्था सिर्जना भएको भन्दै यस्तो फैसला गरेको हो ।
करिब ९ करोड ८० लाख गुगल प्रयोगकर्ताको व्यक्तिगत डेटा चोरी भएको दाबी गर्दै सन् २०२० जुलाईमा दायर गरिएको मुद्दामा हाल अदालतले निर्णय सुनाएको हो । मुद्दा दायरकर्ताले ३१ अर्ब डलर क्षतिपूर्ति माग गरेका थिए । तर, अदालतले सो अनुरोध अस्वीकार गर्दै केवल ४२ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको छ ।
भारतको कर समायोजनले नेपालमा पर्ने असर कम गराउने उपाय खोजीको आवश्यकता
काठमाडौँ । भारतको कर समायोजनले नेपालको अर्थतन्त्रमा प्रभाव पर्नु स्वाभाविक हुने विज्ञ पर्यवेक्षकहरूले बताएका छन् । नेपाली अर्थतन्त्रको दुई तिहाइ हिस्सा भारतीय बजारमा निर्भर रहेकाले भारतमा कर समायोजनले असर पर्ने स्वाभाविक भएको उनीहरूले प्रष्ट्याएका हुन् ।
अमेरिकाले भारतमा उत्पादित वस्तुहरूको अमेरिकी आयातमा अतिरिक्त भन्सार ( ट्यारिफ) बढाएपछि दबाबमा परेको भारतले कर समायोजनको नीति लिएको छ । भारतको सो कर समायोजन नीतिमा बहुदरको गुड्स एन्ड सर्भिसेज ट्याक्स (जीएसटी) प्रणाली भित्रका चार स्ल्याबलाई घटाएर दुई स्ल्याबमा समायोजन गरिएको छ । भारतले साधारण वस्तुमा कर कम र लग्जरी वस्तुमा कर बढी गर्ने योजना बनाएको हो।
सरकारले फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नेपालमै बन्द गर्ने निर्णय, संचार मन्त्रालयले आजैदेखि निष्क्रिय गर्ने तयारी(सूचना सहित)
काठमाडौँ । सरकारले अन्ततः फेसबुकसहित नेपालमा दर्ता सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो । सो अवधिभित्र सूचीकरण नगरेका सामाजिक सञ्जाललाई आजैदेखि निष्क्रिय गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
प्रतिनिधिसभा बैठकमा सांसदद्वारा बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्, अहिले केरा उत्पादनकर्ता किसानाले भारतीय बजारबाट आएको केरा बेच्नु परेको छ, त्यसैले सबैभन्दा पहिला हामी आत्मनिर्भर बन्न जरुरी छ ।”
वसन्तपुर दरबार क्षेत्रमा ईन्द्रजात्राको लिङ्गो उठाइए
काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो । भाद्र शुक्ल अष्टमीका दिन भोटाहिटीबाट ईन्द्रजात्राको लिङ्गो वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ ।
अमेरिकाद्वारा नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग
काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ ।नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले आज बिहीबार बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको समेत उपस्थिति थियो ।एयर एम्बुलेन्स घाइते वा बिरामीहरुको उद्धारका लागि र स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।
बिहीबार सुनको मूल्यमा घटबढ नभई स्थिर, तोलाको दुई लाख सात हजार ९०० मा कारोबार हुँदै
काठमाडौँ। बिहीबार सुनको मूल्यमा घटबढ नभई स्थिर, तोलाको दुई लाख सात हजार ९०० मा कारोबार भइरहेको छ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन ।
चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज देशभर साधारण बदली, पहाडी भू–भागमा मध्यम वर्षा र तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ ।आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
काठमाडौँ ।सरकारले दिएको सात दिनको समयसीमा बुधबार सकिँदा पनि कुनै सामाजिक सञ्जाल सञ्चालकले नेपालमा सूचीकरणका लागि निवेदन दर्ता गराएका छैनन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार कार्यालय समय (बिहानदेखि बेलुकी ५ बजेसम्म) भित्र कुनै पनि सामाजिक सञ्जालले सम्पर्क नगरेको र आवेदन नआएको स्पष्ट भएको छ। गत बुधबार मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक सञ्जाललाई ७ दिनभित्र नेपालमा अनिवार्य सूचीकरण गर्न भनिएको थियो। सूचीकरण नगरे नेपालमै सामाजिक सञ्जाल निष्क्रिय गर्ने चेतावनी सरकारको तर्फबाट दिइएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij