Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

रिलायन्स, अदानी र मित्तल जस्ता भारतीय शीर्ष उद्योगमा अमेरिकी कर नीतिको असर, नेपालमा उद्योग विस्तार र लगानीको सम्भावना

रिलायन्स, अदानी र मित्तल जस्ता भारतीय शीर्ष उद्योगमा अमेरिकी कर नीतिको असर, नेपालमा उद्योग विस्तार र लगानीको सम्भावना

  • काठमाडौँ ।अमेरिकी सरकारले लगाएको नयाँ कर नीतिले भारतका शीर्ष उद्योग घरानाहरू चिन्तित बनेका छन्। उद्योग विज्ञहरूको अनुसार रिलायन्स इन्डस्ट्रीज, अदानी समूह, आर्सेलर मित्तल जस्ता कम्पनीहरूले यस नीतिका कारण ठूलो घाटा भोग्न सक्छन्। यी कम्पनीहरूले करको मारबाट बच्न आफ्ना व्यापार रणनीतिहरू परिमार्जन गर्दै छन्। केही कम्पनीहरूले अमेरिका बाहेक कम कर भएका देशहरूमा उत्पादन एकाइ स्थापना गर्ने योजना बनाएका छन् भने केहीले आफ्ना पहिले नै अवस्थित सहायक कम्पनीमार्फत निर्यात गर्ने सोच बनाइरहेका छन्।

    यसै बीच, केही कम्पनीहरूले तयारी पोशाकलगायतका उत्पादनको विषयमा नेपाली उद्योगी व्यापारीहरूसँग सोधपुछ गरिरहेका छन्। अमेरिकाले भारतबाट निर्यात हुने सामानमा ५० प्रतिशत आयात कर लगाएको छ भने नेपाल र भुटानलाई १० प्रतिशत मात्र कर लगाउने व्यवस्था छ। यसको अवसरको सदुपयोग गर्दै भारतीय उद्योगी व्यापारीहरूले नेपाली व्यवसायीहरूसँग सम्पर्क बढाइरहेका छन्।

    नेपालको वित्तीय प्रणालीमा तरलता प्रचुर मात्रामा रहेको र व्याजदर इतिहासकै न्यून स्तरमा रहेको हुँदा, भारतीय लगानी भित्र्याउने अवसरलाई देशको अर्थतन्त्रलाई फाइदा पुर्याउन सकिन्छ। नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले नेपालमै भ्यालु एड (Value Addition) गर्ने उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “नेपालमा खाली ‘नेपालमा बनेको’ भनेर लेभलिङ मात्र गर्ने उद्योगलाई प्राथमिकता दिनु हुँदैन। जनशक्ति र कच्चा पदार्थ खपत हुने गरी उद्योग स्थापना गर्नुपर्छ।”

    यस अघि ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नवारोले भारतका केही धनी परिवारलाई रूसबाट सस्तो कच्चा तेल खरिद गरेर नाफा कमाएको आरोप लगाएका थिए। अमेरिकी कर नीतिका कारण यी कम्पनीहरूले छिटो रणनीति परिवर्तन गर्दै छन्। यदि नेपाल सरकारले दीर्घकालीन योजना बनाएर अघि बढ्यो भने, अमेरिकी कर नीतिबाट प्राप्त अवसरको लाभ लिन सकिनेमा निजी क्षेत्र आशावादी छ।

    भारतीय उद्योग घरानाहरूको वर्तमान स्थिति

    • रिलायन्स इन्डस्ट्रीज (मुकेश अम्बानी): पहिलो ६ महिनामा रूसबाट १४ करोड २० लाख ब्यारेल तेल आयात, ५ हजार करोड रुपैयाँ बचत। अमेरिकी बजारमा पेट्रोल र ऊर्जा व्यवसाय छ; ६ लाख करोडको ओटुसी व्यवसायमा ४५% आम्दानी निर्यातबाट।

    • भारत फोर्ज (बाबा कल्याणी): गत वर्ष अमेरिकालाई लगभग १७०० करोड रुपैयाँ बराबरको सामान बेचेको, जसले कुल आम्दानीको १०% योगदान गर्छ। चालु वर्षमा अमेरिकी निर्यातमा सावधानी अपनाइएको।

    • आइसर मोटर्स (विक्रम लाल): मध्यम आकारका बाइकहरूको अमेरिकी बजारमा ८% हिस्सा। मार्चमा ९,००० बाइक पठाइएको। करबाट बच्न अमेरिकी स्टक छिमेकी देशको गोदाममा सार्ने योजना।

    • आर्सेलर मित्तल (लक्ष्मी मित्तल): २०२४ मा अमेरिकामा ६० हजार करोड रुपैयाँ बराबरको स्टील निर्यात। नाफा १५ करोड डलरले घट्ने आशंका। अमेरिकी उत्पादन बढाएर करको प्रभाव कम गर्ने प्रयास।

    • बिर्ला समूह (कुमार मंगलम): कपडा र धागो निर्माता/निर्यातकर्ता। ६० भन्दा बढी देशमा व्यापार, अमेरिकामा १५ अर्ब डलर लगानी। अधिग्रहणमार्फत उत्पादन बढाउने योजना।

    • अदानी समूह (गौतम अदानी): अमेरिकी व्यापार प्रभावित भएमा १५ पोर्ट, टर्मिनल र २७% बजार हिस्सासहितको पोर्ट अपरेटर घाटा बेहोर्न सक्छ। अधिकांश सौर्य मोड्युल अमेरिकामा निर्यात हुने भएकाले असर पर्ने सम्भावना।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij