Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

विराटनगरमा एन्जल इन्भेष्टर्स नेटवर्क : नवप्रवर्तन र स्टार्टअपलाई न्यून ब्याजदरमै लगानी

विराटनगरमा एन्जल इन्भेष्टर्स नेटवर्क : नवप्रवर्तन र स्टार्टअपलाई न्यून ब्याजदरमै लगानी

  •  

    काठमाडौँ । संघीय राजधानीबाहिर नवप्रवर्तनलाई प्रोत्साहन र रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्यले विराटनगरमा एन्जल इन्भेष्टर्स नेटवर्क ९बेन० स्थापना गरिएको छ। बैंकमार्फत सहुलियत ब्याजदरमा कर्जा दिने सरकारी योजनाले प्रभावकारी रूपमा काम गर्न नसकेपछि निजी क्षेत्रले यस्तो पहल अघि बढाएको हो। स्टार्टअप उद्यमीहरूलाई बैंकहरूले माग गर्ने कागजात पूरा गर्न नसक्दा कठिनाइ भए पनि, बेनजस्ता निजी लगानी केन्द्रित कार्यक्रममार्फत उनीहरूले सजिलै लगानी पाउन थालेका छन्।

    हालै सम्पन्न छनोट कार्यक्रममा ट्र्याकअन नेपाल, साइबर अलर्ट नेपाल, सिसा, सोल्भी, आरा टेक्नोलोजी प्रालि, कुखुरी काँ, आरती फ्लाअर, एपेक्स बायोटेक एण्ड एग्रोफोरेष्ट्री रिसर्च सेन्टर प्रालि र सुसन विष्ट इन्स्टिच्युट अफ फ्लाइट एण्ड ड्रोन गरी नौवटा स्टार्टअप कम्पनी थप लगानी पाउने चरणमा पुगेका छन्। यी कम्पनीको भौतिक तथा वित्तीय अवस्था, बजार विस्तार र सम्भावित वृद्धिको अध्ययनपछि लगानीकर्तासँग लिखित सम्झौता हुनेछ।

    बेनका संयोजक सुयशराज प्याकुरेलका अनुसार, छानिएका प्रोजेक्टहरूलाई मूल्यांकन गरेर अधिकतम ४९ प्रतिशतसम्म लगानी गर्ने व्यवस्था छ। प्रारम्भिक पूँजी दुई करोड रहेको नेटवर्कलाई छिट्टै पाँच करोडसम्म पुर्याउने तयारी भइरहेको छ। ‘आइडिया टु इम्प्याक्ट’ नारासहित उद्योग संगठन मोरङको नेतृत्वमा यो नेटवर्क गठन गरिएको हो।

    प्याकुरेलले बेनलाई प्रदेश सरकारले आधिकारिक उद्यमशीलता साझेदारको रूपमा मान्यता दिनु, एन्जल लगानीमा कर छुट दिने, स्टार्टअप दर्ता प्रक्रियालाई सरल बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार, बेनले केवल वित्तीय लगानी मात्र होइन, आवश्यक व्यावसायिक अनुभव र नेटवर्क पनि स्टार्टअप उद्यमीलाई उपलब्ध गराउनेछ। यसरी यो कार्यक्रम लगानी खोज्ने स्टार्टअप र लगानीकर्ताबीच ‘विन–विन’ साझेदारीको रूपमा अघि बढ्ने विश्वास लिइएको छ।

    यसैबीच, विभिन्न लगानीकर्ता—महेश जाजु, सुयश प्याकुरेल, राकेश सुराना, भोलेश्वर दुलाल, सुरेन्द्र गोल्छा, प्रत्युष राउत, सुजित झा र किरण व्यासले छनोट भएका कम्पनीप्रति रुचि देखाउँदै व्यावसायिक नेटवर्क, मेन्टोरसिप र लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    पूर्वाञ्चल विश्वविद्यालय, स्वीस कन्ट्याक्ट सहज परियोजना लगायतका संस्थाहरूले यसलाई प्राविधिक सहयोग गर्दै आएका छन्। विराटनगरमा सञ्चालनमा रहेको इन्क्युबेशन सेन्टर समेतमार्फत स्टार्टअप उद्यमीलाई प्रारम्भिक चरणमा आवश्यक सहयोग प्रदान हुँदै आएको छ। यसरी कोशी प्रदेशलाई नवीन उद्यमशीलताको हब बनाउने उद्देश्यसहित एन्जल इन्भेष्टर्स नेटवर्क सक्रिय बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij