
काठमाडौं । नयाँ बानेश्वरमा भइरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक बन्दै जाँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ। उपचारका क्रममा सिभिल अस्पतालमा उनको ज्यान गएको पुष्टि गरिएको छ। मृतकको पहिचान भने खुल्न बाँकी छ।
सिभिल, एभरेष्ट र बानेश्वर आसपासका अस्पतालमा थुप्रै घाइतेहरूको उपचार भइरहेको बताइएको छ।
आज बिहान माइतीघर मण्डलाबाट सुरु भएको ‘जेनजी’ आन्दोलन संसद् भवनतर्फ अघि बढ्दा निषेधित क्षेत्र तोडेर प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली समेत प्रहार गरेको थियो।
सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आक्रोशित भई ‘जेनजी’ पुस्ता सडकमा उत्रिएका हुन्। काठमाडौंसहित देशका प्रमुख शहरहरूमा आजैदेखि प्रदर्शन भइरहेको छ।
बानेश्वर क्षेत्रमा स्थिति बिग्रिएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। साथै राष्ट्रपति निवास महाराजगञ्ज, प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा समेत कर्फ्यू आदेश लागू गरिएको छ। यी क्षेत्रमा सेना समेत परिचालन गरिएको छ।
कर्फ्यू आदेश अन्तर्गत तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij