
काठमाडौँ।नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न अहसज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटलसम्म आवतजावत गर्न सहजीकरण भइरहेको छ । पर्यटक आवतजावतका लागि मङ्गलबारदेखि काठमाडौँ र पोखरामा पर्यटकलाई सटल बसको व्यवस्था गरिएको छ । “पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन । उनीहरु निर्वाध रूपमा यात्रा गरिरहेका छन् । खासगरी काठमाडौँमा आगमन भइरहेको र काठमाडौँबाट स्वदेश फर्किने योजनामा रहेका पर्यटकलाई समस्या भइरहेको छ ।
विमानस्थलदेखि होटल र होटलबाट विमानस्थलसमम लैजान सहजीकरण गरिएको छ”, सिइओ जोशीले भन्नुभयो । उहाँले मङ्गलबार दिउँसो सडक अवरुद्ध भए पनि विमानस्थलमा रहेका पर्यटकलाई पानी बिस्कुटको व्यवस्था गरी राति सुरक्षा निकायसँगको समन्वयमा होटलमा पुर्याउन सहजीकरण गरिएको बताउनुभयो । बोर्डको विवरणमा पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । उनीहरुमध्ये अधिकांश पदयात्रामा निस्किएका छन् । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा र केही काठमौँमा रहेका छन् । नेपालमा मनसुन सकिएर मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएको छ । यो सिजनमा धेरै संख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । बोर्डले विषम परिस्थितिमा पर्यटकको सूचना लिने र सहजीकरणको काम पनि गरिहेको छ । सिइओ जोशीले राष्ट्रिय अन्तरराष्ट्रिय ट्राभल ट्रेका मानिसले सूचना सोधिरहेकाले बोर्डले सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । उक्त प्रयोजनका निम्ति बोर्डले सात जना कर्मचारीलाई डेडिकेटेड राखेर २४ सै घण्टा सूचना दिने काम गरिएको छ । कसैलाई कुनै क्राइसेस परेको खण्डमा सूचना लिने र सम्बन्धित निकायमा सहजीकरणका लागि काम गरिएको छ । बोर्डले फोन, टोलफ्री नम्बर र इमेलमार्फत सूचना लिने र सहजीकरण गरिएको जनाएको छ । –––
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij