
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउने निर्णय गरेको छ। पछिल्लो सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै सेनाले नागरिकको जनधनको सुरक्षालाई प्राथमिकता दिँदै काठमाण्डु, ललितपुर र भक्तपुरमा जारी प्रतिबन्धलाई सहज बनाउन लागेको हो।
बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ। तर, अत्यावश्यक कार्यका लागि बिहीबार बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ।
सेनाका अनुसार यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न सकिनेछ। यस्तै, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था का कर्मचारीले परिचयपत्र देखाएर कार्यालयसम्म जान पाउनेछन्।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले उडान टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ। आवश्यक परेमा नजिकैका सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न सेनाले सर्वसाधारणलाई आग्रह गरेको छ।
उपत्यका बाहिर भने निषेधाज्ञा तथा कर्फ्यूको कार्यान्वयन सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुसार जिल्ला सुरक्षा समितिहरूको निर्णय र समन्वयमा हुने सेनाले स्पष्ट पारेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij