
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यकारी जिम्मेवारी सम्हाल्ने शपथ खुवाएका थिए।
शपथ ग्रहण समारोहमा प्रधानसेनापति अशोकराज सिग्देल, प्रमुख राजनीतिक दलका नेता, संवैधानिक निकायका अधिकारीहरू तथा विदेशी राजदूतहरूको उपस्थिती रहेको थियो।
यस नियुक्तिले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको मानिन्छ, किनभने कार्की देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। उनका नेतृत्वमा मुलुकले जे–नजी आन्दोलनपश्चात् क्षतिग्रस्त प्रशासन र संरचनालाई सम्हाल्दै आगामी निर्वाचनसम्म अन्तरिम व्यवस्थाको नेतृत्व पाउनेछ।
पूर्वप्रधानन्यायाधीश कार्की न्यायपालिकामा इमानदार र हक्की स्वभावका लागि चर्चित रहिसकेकी छन्। प्रधानन्यायाधीशबाट करिब आठ वर्षको अवकाशपछि उनी कार्यपालिकाको नेतृत्व सम्हाल्दै राजनीतिक इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान स्थापित गरेकी हुन्।
राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति पौडेलले संविधानको संरक्षण सुनिश्चित गर्दै र राजनीतिक अस्थिरताको परिस्थितिमा राष्ट्रका हितमा यो कदम चालेका हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij