
सिमकोट (हुम्ला)। जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् । पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरयासीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् । चीन पुग्ने सङ्ख्या बढ्दो विगतका वर्षहरूमा युवाका लागि मात्र रोजगारीको केन्द्र बनेको ताक्लाकोट यो वर्षदेखि युवतीहरू पनि जान थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार विगतका वर्षभन्दा यो वर्ष सीमा पास लिने युवायुवतीको सङ्ख्या धेरै बढेको छ । उहाँका अनुसार झण्डै ५५ हजार जनसङ्ख्या भएको हुम्लामा ११ हजार हाराहारीका यहाँका नागरिकले सीमा पास लिइसकेका छन्भने वितरण भइसकेको छ । आजभोलि पनि दैनिक सीमा पास लिन आउने सङ्ख्या पनि उल्लेखनीय रहेको छ । जेठ र असार महिनाजस्तै चाप नभए पनि दैनिक पाँच, सात जना सीमा पास बनाउन आउने गरेको उहाँले बताउनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि कामको खोजीका लागि नयाँ सीमा पास र नवीकरण गर्नेको सङ्ख्या बढेको हो । वैशाखदेखि हालसम्म नयाँ सीमा पास लिनेको सङ्ख्या आठ हजार ९१३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताउनुभयो । त्यसैगरी नवीकरण गर्नेको सङ्ख्या दुई हजार ६६ जना रहेको छ ।
जिल्ला प्रशासन हुम्लाले हुम्लीको लागि चीनको समन्वयमा छ महिनाका लागि अस्थायी सीमा पास दिने गरेको छ । अस्थायी सीमा पास लिएका हुम्लीले छ महिना बस्न पाउँछन् । थप बस्नका लागि नवीकरण गर्ने गरेका छन् । चीनसँग जोडिएको यो हिल्सा नाका हिमपातका कारण वर्षमा छ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरू दैनिक सीमा पास लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो । छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी नाम्खा र सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चङ्खेली गाउँपालिकाका युवायुवतीले पनि जिल्ला प्रशासनबाट सीमा पास बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो । हुम्लाबाट कामको खोजीमा चीन पुगेका हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रूपमा काम गर्ने गरेको सिमकोट गाउँपालिका–२ निवासी कालु बोहराले बताउनुभयो । हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा २५ देखि १५० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका प्रेम भण्डारीले बताउनुभयो । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रूपैयाँ कमाउने गर्छन् । गत वर्ष ताक्लाकोटमा ३०० सम्म चिनियाँ युवान कमाउने भए पनि यो वर्ष न्यून ज्यालामा काम गरेर चित्त बुझाउन परेको उहाँले सुनाउनुभयो । यो वर्ष दैनिक ज्यालाको मूल्य निकै घटेको छ । सोचेअनुसारको पनि काम नपाउने उहाँको भनाइ थियो । यतिबेला चीनको पुराङ्ग काउन्टी, ताक्लाकोटा आसपासका गाउँहरूमा उवा, जौ, भित्र्याउने काम पाउने गरेको छ । काम पाउन मुस्किल चीनको ताक्लाकोटमा विगतका वर्षभन्दा यो वर्ष काम पाउन मुस्किल भएको छ । जिल्लाका बेरोजगार युवायुवती रोजगारीको खोजीमा ताक्लाकोट पुग्नेको सङ्ख्या उल्लेखनीय रहेपछि काम पाउन मुस्किल हुने गरेको हो । यतिबेला चीनको ताक्लाकोट पुगेका अधिकांश हुम्लीले हप्ता दिनमा एक दिन मात्रै काम पाउने गरेको गुनासो पोखेका छन् । चिनियाँ भाषा जान्नेलाई काम पाउन सजिलो हुने र भाषा नजान्नेलाई काम पाउन मुस्किल हुने गरेको ताक्लाकोटमा काम गर्दै आएका जनक बोहराले बताउनुभयो । ताक्लाकोटमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका विभिन्न बस्तीबाट यहाँ पुगेका लामा समुदाय काम बढी पाउने गरेका छन् । उनीहरूको पुराङ्गवासीहरूसँग भाषा मिल्दोजुल्दो हुने भएका कारण उनीहरू काम बढी पाउने गरेका छन् । यता क्षेत्री बाहुनहरूले भने सोचेअनुसारको काम पाउन नसकेको बोहराको भनाइ थियो । जडीबुटी निर्यात, खाद्यान्न र लत्ताकपडा आयात ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्यस्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् ।
हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् । हुम्लीले मैदा, खाद्य पदार्थलगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाइका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्ष अगाडिदेखि चीन प्रमुख आयस्रोतस्थल बन्दै गएको छ । बस्तीका युवा सबै चीनमा हुम्लाका अन्य गाउँपालिकाभन्दा उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनवटै बस्तीका नागरिक यतिबेला चीन केन्द्रित हुने गरेको पाइन्छ । लिमीको तिल, हल्जी र जाङ्ग तिनै गाउँबाट पशुवस्तु चराउने गोठालाबाहेक घरका सबै सदस्य कामका लागि ताक्लाकोट जाने गर्छन् । लिामीका नागरिकहरूको प्रमुख आम्दानी आयस्रोतको क्षेत्र ताक्लाकोट बनेको छ । उनीहरू कोही कोही बाह्रै महिना ताक्लाकोट बस्दै आउने गरेका छन् । कोही दुई तीन वर्षपछि राम्रो कमाइ भएपछि गाउँघरमा फिर्ता हुने गरेका छन् । गएका वर्षभन्दा यो वर्ष ताक्लाकोटमा काम गर्न जाने कामदारको सङ्ख््या बढे पनि विगतका वर्षमा जसरी काम पाउन सहज नभएको बताउने गरेका छन् । पहिला काम पाउन पनि सजिलो हुने र काम गरेबापत काम हेरेर राम्रो आम्दानी हुने भए तापनि यो वर्ष कम ज्याला र कुनै दिन यतिकै बसिरहनुपर्ने अवस्था छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij