Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

निषेधाज्ञा र कर्फ्यु हटेपछि काठमाडौंमा चहलपहल बढ्यो,आजदेखि सार्वजनिक सवारी सञ्चालन

निषेधाज्ञा र कर्फ्यु हटेपछि काठमाडौंमा चहलपहल बढ्यो,आजदेखि सार्वजनिक सवारी सञ्चालन

  • काठमाडौं।जिल्ला सुरक्षा समितिले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा र कर्फ्यु हटाएपछि निजी सडकमा सवारीसाधन र सर्वसाधारणको चहलपहल बढ्न थालेको छ। सोमबारदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आइतबारदेखि सञ्चालनमा आउने भएका छन्।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार सडकमा सर्वसाधारण र निजी सवारीको संख्या क्रमशः बढ्दै गएको छ। तर सार्वजनिक बिदा भएकोले सरकारी कार्यालय बन्द रहेका कारण आइतबारदेखि मात्र सडकमा सवारी चाप अझै बढ्ने उनको भनाइ छ।

    सार्वजनिक सवारी नचल्दा यात्रामा असहजता भएको भए पनि आइतबारदेखि सञ्चालनमा आउने भएकाले यात्रु सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताएका छन्। उनका अनुसार मुलुक नयाँ प्रधानमन्त्री पाएसँगै अवस्था सहज बन्दै गएको छ र अब सवारी सञ्चालनमा समस्या छैन।

    यसैबीच, दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार सरोकारवाला निकायसँग छलफल हुने भएको छ। सचिव केशवकुमार शर्माको उपस्थितिमा हुने छलफलपछि टिकट बुकिङको मिति तोकिने छ।

    यातायात व्यवसायी महासंघले टिकट काउन्टरमा अनिवार्य भाडा सूची टाँस्ने, यात्रु सहायता कक्ष स्थापना गर्ने र कालोबजारी नियन्त्रण गर्ने व्यवस्था मिलाइने जनाएको छ।

    सडक पूर्वाधार विभागका महानिर्देशक विजय जैसीले चाडबाडलाई लक्षित गर्दै राजमार्गहरूमा अवरोध हुन नदिन मेसिन र प्राविधिक टोली खटाइएको बताए। उनका अनुसार, नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल लगायत पहिरो जोखिमयुक्त खण्डमा मर्मत सुरु भएको छ र दसैंमा यात्रु अवरुद्ध हुने अवस्था नहुनेछ।

    गत वर्षजस्तै बर्खाको क्षति दोहोरिन नदिन पूर्वतयारी गरिएको विभागले जनाएको छ। दसैं अवधिमा मात्र उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij