
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीबाट स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको जनाइएको छ ।विभगका कर्मचारीहरूले उक्त आगजनीमा खरानी हुनबाट स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको कर्मचारीहरूले बताएका हुन् ।ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको जनाइएको छ ।
२३ र २४ भदौमा जेनजी आन्दोलन चर्किंदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आगजनी भएको थियो ।शुक्रबार बिहान यातायात व्यवस्था विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङलाई कार्यालयका कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा रिकभर गर्न मिल्ने अवस्थामा रहेको जानकारी दिएका हुन् ।
त्यसक्रममा मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने बताए ।
जनाइए अनुसार राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि लाइसेन्स छाप्न मिल्छ । विदेश जानेहरूलाई अत्यावश्यक लाइसेन्स चाहिएमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा रहेको मेसिनबाट लाइसेन्स छाप्न समन्वय गरिने छ ।यातायात व्यवस्था विभागका अनुसार २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । त्यो छाप्ने सामग्रीका लागि तत्काल टेन्डर आह्वान गर्ने तयारी छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij