Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

मन्त्री घिसिङ र भारतीय राजदूतबीच विद्युत् निर्यातलगायतमा छलफल

मन्त्री घिसिङ र भारतीय राजदूतबीच विद्युत् निर्यातलगायतमा छलफल

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

    सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई  भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 
    भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । 

    त्यस अवसरमा उहाँहरुबीच ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ ९तेस्रो चरण०को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा छलफल भएको थियो ।

    मन्त्री घिसिङलेले दसैँ तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरिएको बताउनुभयो । 

    अहिले नेपालले बङ्गलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । थप चार आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारतसमक्ष प्रस्ताव पेस गरिएको छ । इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो । जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवबाट जानकारी गराइएको थियो । 

    भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरु चिरञ्जीवी चटौत, सन्दीपकुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाका शाखा अधिकृत प्रतीक कार्कीको उपस्थिति थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij