Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

एक महिनामै बैंकिङ प्रणालीमा १ खर्बभन्दा बढी निक्षेप थप

एक महिनामै बैंकिङ प्रणालीमा १ खर्बभन्दा बढी निक्षेप थप

  • काठमाडौँ । बैंकिङ प्रणालीमा एक महिनाको अवधिमा १ खर्बभन्दा बढी निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत भदौ १ गतेसम्म प्रणालीमा ७२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असोज २ गतेसम्म १ खर्ब १८ अर्बले बढेर ७३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको हो ।

    सहप्रवक्ता सुमन न्यौपानेका अनुसार दशैंको मुखमा वैदेशिक रोजगारमा रहेका कामदारहरूले रेमिट्यान्स पठाउँदा निक्षेप संकलनमा वृद्धि भएको हो । जेनजी आन्दोलनका घटनापछि निक्षेप बढेको अनुमान भए पनि बैंकहरू भने यसलाई अस्वीकार गर्दै प्रमुख कारण रेमिट्यान्स भएको बताएका छन् ।

    नेपाल बैंकर्स संघका अध्यक्ष एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पनि दशैं अगाडि मुख्यतः रेमिट्यान्सकै कारण निक्षेप बढेको बताए । उनका अनुसार साउन मसान्तसम्म ७२ खर्ब ४१ अर्ब रहेको निक्षेप असोज २ गतेसम्म आइपुग्दा १ खर्ब १३ अर्बले बढेको हो । असोज महिनामा २० वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ब्याजदर ५.४६ प्रतिशत तोकेको तथ्याङ्कमा उल्लेख छ ।

    निक्षेपको ब्याजदर न्यून रहे पनि राजनीतिक अस्थिरता र लगानीयोग्य वातावरणको अभावका कारण शेयर बजार तथा घरजग्गा कारोबारमा आकर्षण बढ्न नसक्दा, थोरै ब्याजदरमै भए पनि निक्षेप राख्ने प्रवृत्ति कायम छ ।

    कर्जा प्रवाह पनि बढ्यो

    भदौ १ गते ५५ खर्ब ८३ करोड रहेको कुल कर्जा १ महिनाको अवधिमा ४४ अर्बले बढेर असोज २ सम्म ५६ खर्ब २७ अर्ब पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५० खर्ब ४ अर्ब छ । हाल कर्जा–निक्षेप अनुपात ७५.५७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

    अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता थपिएको पनि देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij