
काठमाडौँ । आश्विन शुक्ल पञ्चमीका दिन शुक्रबार नवरात्रको पाँचौं दिनका अवसरमा नवदुर्गामध्ये पाँचौं देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखिएपछि क्रमशः देवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र आज स्कन्दमाताको आराधना गर्ने परम्परा रहिआएको छ ।
यस अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्रहरूको पाठ गर्ने चलन छ । वैदिक सनातन धर्मअनुसार नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यसरी आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको आराधना गरी प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ । यही क्रमलाई नै नेपालीहरूले १५ दिनसम्म बडादसैँ पर्वका रूपमा मनाउने गर्छन् ।
देशभरका शक्तिपीठमा आज पनि भक्तजनहरूको भीड लागेको छ भने काठमाडौँ उपत्यकाका प्रमुख शक्तिपीठमा दर्शन तथा पूजाआराधनाका लागि भक्तजनको लाम बढ्दो छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij