
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारमा आगलागी भएको घटनामा दमकल ढिलो पुग्नुको कारण आन्दोलनकारीको अवरोध भएको स्पष्ट पारेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले दमकल पठाउने प्रयास तत्कालै गरिएको भए पनि भीडका कारण अघि बढ्न नसकेको जानकारी दिएका छन्।
उनका अनुसार, ‘सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास गरिए पनि आन्दोलनकारीले बाटो अवरुद्ध गरेकाले दमकल जान सकेन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदाहुँदै पनि भीडका कारण काम गर्न सकेको थिएन। भीड केही शान्त भएपछि मात्र २४ गते साँझ ८स्१५ बजे काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको हो,’ मेयर बालेनले लेखेका छन्।
मेयर बालेनका अनुसार काठमाडौं महानगरसँग न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १ गरी जम्मा ५ वटा दमकल सञ्चालनमा छन्। ती दमकल सञ्चालनका लागि १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी ४४ जनाको टिम तीन सिफ्टमा कार्यरत रहेको उनले बताए। हरेक सिफ्टमा प्रत्येक दमकलमा अधिकतम ३ जनामात्र जनशक्ति परिचालित हुने व्यवस्था रहेको पनि उनले जानकारी दिए।
उनले थपे, ‘२३ गतेका केही स्थानमा र २४ गते सिंहदरबार मात्र होइन, काठमाडौं मात्र होइन, सिंगो देश जल्दै थियो। महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने दायित्व हाम्रो हो भन्ने मान्यता हामीले राखेका छौँ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij