
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २१ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
मेयर बालेनको स्पष्टीकरण : आन्दोलनकारीको अवरोधले सिंहदरबारमा दमकल ढिलो पुगेको
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारमा आगलागी भएको घटनामा दमकल ढिलो पुग्नुको कारण आन्दोलनकारीको अवरोध भएको स्पष्ट पारेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले दमकल पठाउने प्रयास तत्कालै गरिएको भए पनि भीडका कारण अघि बढ्न नसकेको जानकारी दिएका छन्।
उनका अनुसार, ‘सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास गरिए पनि आन्दोलनकारीले बाटो अवरुद्ध गरेकाले दमकल जान सकेन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदाहुँदै पनि भीडका कारण काम गर्न सकेको थिएन। भीड केही शान्त भएपछि मात्र २४ गते साँझ ८स्१५ बजे काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको हो,’ मेयर बालेनले लेखेका छन्।
जोशी हाइड्रोपावरले अवितरित हकप्रद शेयर असोज २८ गतेदेखि लिलामीमा बिक्री गर्ने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि भदौ १९ गतेसम्म निष्कासन गरेको ६५ प्रतिशत हकप्रद शेयरमध्ये अवितरित भाग असोज २८ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशतका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। तर, तीमध्ये १ लाख ८९ हजार ९२७ कित्ता शेयर वितरण हुन नसकी बाँकी रहेका हुन्।
उक्त बाँकी शेयर सर्वसाधारण समूहतर्फका हुन्। लिलामी प्रक्रिया कात्तिक ११ गतेसम्म खुला रहनेछ। प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ, र इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण बाँकी कित्तासम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त लिलामीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
अदालतको काम कारबाही अविलम्ब सञ्चालन गर्न नेपाल बार एशोसिएसनको माग
काठमाडौँ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतका काम, कारबाही अविलम्ब नियमित रुपमा सञ्चालन गर्न माग गरेको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतको काम कारबाही सञ्चालन गर्न माग गरेको हो ।
“जनताको न्यायसम्बन्धी हकको प्रचलन कुनै पनि क्षण अवरुद्ध गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ”, विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकाको सुधार न्यायपालिकाकै प्रतिवेदनले देखाएको छ, न्यायपालिकाको सुधार वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा भएर हुनुपर्ने जनाएको छ ।”
एक महिने कार्तिक स्नान, तुलसीको विशेष पूजा, आकाशदीप दान सुरु
काठमाडौँ ।प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । कार्तिक स्नान बिहान सूर्योदयअघि गरिन्छ भने आकाशदीपदान साँझ गरिन्छ ।
पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् ।
रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ । हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन भएको छैन ।
भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौँ।जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ ।
धितोपत्र बोर्डका कर्मचारीहरूको आन्दोलन १५ दिन देखि जारी
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको काम कारबाही १५ दिनदेखि ठप्प रहेको छ । त्यहाँका कर्मचारीहरू आन्दोलन सुरु गरेयता त्यहाँको काम ठप्प रहेको हो । उनीहरूको आन्दोलनले १५ दिन पूरा गरेको छ । बोर्डका कर्मचारीले असोज ७ गतेदेखि बोर्डमा आन्दोलन गरिरहेका छन् ।
अर्थमन्त्रालयले गरको निर्णय विरुद्ध उनीहरूको आन्दोलन भएको हो । अर्थ मन्त्रालयले असोज २ गते सेवा सुविधा कटौती गर्ने गरी पठाएको पत्रका कारण बोर्डका सबै कर्मचारी आन्दोलनमा सामेल भएका हु्न् ।
जेनजी आन्दोलनले पर्यटक आगमनमा ठुलो गिरावट
काठमाडौँ । पर्यटक आगमनको दृष्टिकोणले आकर्षक मानिने मौसममा पर्ने सेप्टेम्बरको महिनामा पर्यटक आमगनमा कमी आएको छ ।जेनजी आन्दोलनले नेपालको पर्यटक आगमनको मुख्य सिजनमा नै पर्यटकको आगमनको संख्या ह्वात्तै घटेको हो । यो वर्षको सेप्टेम्बरमा हवाई मार्ग हुँदै ७८ हजार ७ सय ११ विदेशी पर्यटक नेपाल आए ।
यो संख्या गत सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशतले घटी हो । नेपाल पर्यटन बोर्ड अनुसार गत सेप्टेम्बरमा ९६ हजार ३सय २ पर्यटक नेपाल आएका थिए । नेपालमा भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका कारण नेपालमा आउने पर्यटकको संख्या घटेको हो ।आन्दोलनका कारण नेपालमा आउन लागेका धेरै पर्यटकले गरिसकेको होटल बुकिङ पनि रद्द गरेका थिए । आन्दोलनका क्रममा कतिपय होटलमा तोडफोड तथा आगलागी भए ।
नेपालको आर्थिक वृद्धिदर २.१मा सीमित हुने विश्व बैंकको पूर्वानुमान
काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । विश्व बैंकले चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने अनुमान गरेको हो । दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गरी विश्व बैंकले नेपालको अर्थतन्त्र शिथिल भएर आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै हुने जनाएको छ ।
नेपालमा हाल देखिएको अस्थिरता तथा बढ्दो राजनीतिक र आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा घटेर २.१ प्रतिशतमा सीमित हुने पूर्वानुमान सो प्रतिवेदनमा गरिएको छ । यसको सम्भावित दायरा ऋणात्मक १.५ देखि २.६ प्रतिशतसम्म रहने अपेक्षा गरिएको छ ।अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीका कारण बीमा क्षेत्र प्रभावित हुने अनुमान विश्व बैंकले गरेको छ ।
विपद्मा बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिइने निर्णय
काठमाडौँ। विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । सो निर्णयसँगै उक्त कार्यमा खटिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । खानेपानी, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सम्बन्धित निकायले यथाशीघ्र पुनःसञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
यो दशैंमा सवा अर्ब बढीको खसीबोका बिक्री भयो
काठमाडौँ । यो दशैंमा काठमाडौं उपत्यकामा सवा अर्ब बढी रुपैँयाको खसीबोका बिक्री भएको छ ।जनाइए अनुसार १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएको हो ।
दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ ।महासंघ अध्यक्ष गोविन्द सुवेदीले जनाए अनुसार ५० हजार संख्यामा बिक्रीको लक्ष्य राखे पनि केही कम बिक्री भएको छ ।गत वर्ष दशैंमा ५० हजार खसीबोका बिक्री भएको थियो । यसपालि गत वर्षको तुलनामा खसीबोका खपत अलि कम भयो ।
शेयर बजार : नेप्से परिसूचक ६३ अंकले घटेर २,६०० बिन्दुमा, ४ अर्ब ५५ करोडभन्दा बढीको कारोबार
काठमाडौं । दशैं बिदापछि पुनः खुलेको सोमबार शेयर बजारमा भारी गिरावट आएको छ। आइतबार ठूलो उछाल आएपछि सोमबार लगानीकर्तामा मुनाफा लिन खोज्ने मनोवृत्ति बढेपछि बजारमा गिरावट देखिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से परिसूचक ६३.१५ अंकले घटेर २,६००.३५ बिन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २.३७ प्रतिशतले कमी हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij