Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

गृहमन्त्रीको निर्देशन : माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन आदेश

गृहमन्त्रीको निर्देशन : माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन आदेश

  •  

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन(जी युवाहरुको नाममा निस्शुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

    बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाका प्रतिनिधिहरूले गृह मन्त्रालयमा पुगेर घटनाबारे जानकारी दिएका थिए। सो अवसरमा अध्यक्ष कार्कीले जेन(जी युवाहरुको नाममा आयोजना बन्द गर्नु अराजकता भएको बताउँदै, छिटोभन्दा छिटो आयोजना पुनः सञ्चालन गर्न आग्रह गरेका थिए।

    त्यसपछि गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई फोनमार्फत निर्देशन दिँदै भने,

    “जेन-जी युवाहरूले जायज माग राख्न सक्छन्, तर वार्ता र छलफलको माध्यमबाट मात्र समाधान खोज्नुपर्छ। विद्युत् उत्पादन रोक्नु समाधान होइन।”

    गत भदौ २५ गतेदेखि १० प्रतिशत निस्शुल्क शेयरको माग गर्दै जेन(जी युवाहरूले ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना बन्द गराएका थिए। यस कारण करिब २८ दिनदेखि आयोजना ठप्प छ र कम्पनीले २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाएको बताइएको छ।

    भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितका अनुसार, आयोजनाले वर्षायाममा दैनिक करिब ९८ लाख रुपैयाँ बराबरको विद्युत उत्पादन गर्दै आएको थियो। तर, लामो समयसम्म बन्द रहँदा ठूलो आर्थिक क्षति भएको छ।

    जेन(जी युवाहरूले चेतावनी दिँदै भनेका छन् कि, माग पूरा नभएसम्म आयोजनाबाट विद्युत उत्पादन हुन दिने छैन। यसैबीच, स्थानीयहरूले पनि अन्य आयोजनाहरूमा १० प्रतिशत निस्शुल्क शेयर माग गर्दै पत्र पठाएका छन्।

    इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकतामा पर्ने भएकाले राज्यले जस्तोसुकै अवस्थामा पनि सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनका अनुसार, निजी क्षेत्रले हालसम्म करिब १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेर ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको छ, तर सुरक्षा सुनिश्चित नभए निजी लगानी जोखिममा पर्ने चेतावनी दिए।

    त्यस्तै, माथिल्लो बलेफीका सञ्चालक मोहन विक्रम कार्कीले जेन(जी आन्दोलनका कारण जलविद्युत उत्पादकको मनोबल कमजोर भएको बताउँदै, यस्तो अवस्थामा नयाँ लगानीकर्ताहरू हतोत्साहित हुने बताएका छन्।

    हाल सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत आयोजनाहरूमा पनि १० प्रतिशत निस्शुल्क शेयर माग गर्दै जेन-जी र स्थानीय युवाहरूले पत्र काटेका छन्। ती आयोजनामध्ये ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७।२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटको सोलाङ खोला र घट्टेखोला लगायतका आयोजना प्रमुख रूपमा प्रभावित भएका छन्।

    यस्तै, निर्माणाधीन २२।१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला र ६५ मेगावाटको दुधखोला आयोजना पनि जेन(जी र स्थानीय युवाहरूको शेयर मागको दवाबमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij