
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २२ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ
बरहथवा । प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
नागरिक लगानी कोषको स्पष्टीकरण : नयाँ कर्मचारीले बिमा प्रिमियम एकमुष्ट बुझाएर अर्को वर्षदेखि बिमा सुविधा
काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीका लागि बिमा ‘प्रिमियम’ रकम सम्बन्धी स्पष्टता दिएको छ। कोषका अनुसार, नयाँ कर्मचारीले आर्थिक वर्षभित्र पर्याप्त प्रिमियम रकम नपुग्ने भएमा, उक्त रकम आफू कार्यरत कार्यालयमार्फत एकमुष्ट रूपमा कोषमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसरी रकम बुझाएपछि अर्को आर्थिक वर्षदेखि मात्र बिमा सुविधा सुनिश्चित हुने कोषले जनाएको छ।
कोषले भनेको छ — यदि बिमा प्रिमियम रकम नपुगुञ्जेलसम्म जम्मा नहुने हो भने, त्यस अवधिसम्म कर्मचारी बिमा अन्तर्गत नपर्ने।
गृहमन्त्रीको निर्देशन : माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन आदेश
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन(जी युवाहरुको नाममा निस्शुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाका प्रतिनिधिहरूले गृह मन्त्रालयमा पुगेर घटनाबारे जानकारी दिएका थिए। सो अवसरमा अध्यक्ष कार्कीले जेन(जी युवाहरुको नाममा आयोजना बन्द गर्नु अराजकता भएको बताउँदै, छिटोभन्दा छिटो आयोजना पुनः सञ्चालन गर्न आग्रह गरेका थिए।
त्यसपछि गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई फोनमार्फत निर्देशन दिँदै भने,
“जेन-जी युवाहरूले जायज माग राख्न सक्छन्, तर वार्ता र छलफलको माध्यमबाट मात्र समाधान खोज्नुपर्छ। विद्युत् उत्पादन रोक्नु समाधान होइन।”
देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा
काठमाडौँ ।हाल देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् । जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम ९पूर्वी भाग० मा केही दिनअघिको अबिरल वर्षा र भू–भागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो ।
यातायात अवरुद्ध हुँदा दसैँका लागि काठमाडौँ उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिुसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताउनुभयो ।
सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पुग्यो
काठमाडौँ। सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उहाँले बताउनुभयो । उक्त सेवा केन्द्रमा एक जना कविराज तहका आयुर्वेद जनशक्तिको व्यवस्था हुनेछ । हरेक पालिका तहमा रहेका ती आयुर्वेद केन्द्रबाट निःशुल्करुपमा आयुर्वेद औषधिका साथै उपचार सेवा पनि प्रदान गरिने छ । यस्तै आरोग्य केन्द्रहरूमा भने योग पनि सिकाइने डा ठाकुरले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक प्रति आउन्स ४ हजार डलर नाघ्यो सुनको मूल्य
अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि बुधवार सुनको मूल्यले इतिहासमै पहिलो पटक चार हजार डलर पार गरेको छ । टेक कम्पनीहरूको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजारहरू अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो ।
वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भू–राजनीतिक तनावबीच सुनमा निर्भर रहँदै आएका छन् । परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार चार हजार ३७ दशमलव १० डलरसम्म पुगेको छ ।
अख्तियारद्वारा पोखराको लिचिबारी जग्गा प्रकरणमा पूर्व मन्त्रीहरू गरी ७ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध उक्त मुद्दा बुधबार दायर गरेको हो ।
अख्तियारले मुद्दामा गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख बिगो मागदाबी गरेको छ । त्यसैगरी यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।
नेप्से परिसूचकमा बुधबार पनि गिरावट, ४५.३६ अंकको गिरावट भई नेप्से परिसूचक २५५९.५९ बिन्दुमा
काठमाडौँ । शेयर बजारमा बुधबार ४५.३६ अंकको गिरावट भई नेप्से परिसूचक २५५९.५९ बिन्दुमा झरेको छ ।शेयर बजारमा गिरावटले बुधबार पनि निरन्तरता पाएर नेप्से थप झरेर २५५९.५९ बिन्दुमा झरेको हो ।मंगलबार ५८.५५ अंकको गिरावट भएको थियो ।
बुधबार २३२ कम्पनीको शेयर मूल्य घटेको छ। प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।होटल र फाइनान्स उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।
नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर
काठमाडौँ।नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम” मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ । यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने उल्लेख छ ।
मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो
गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो । सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो । “मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे”, उहाँले भन्नुभयो, “मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्या पनि घटेको छ ।” अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उहाँले आग्रह गर्नुभयो ।
आयकर विभागद्वारा डिस्टिलरीमा छापा ,साढे तीन अर्ब बढी नगद बरामद
काठमाडौँ । आयकर विभागले छापाबाट साढे तीन अर्ब भारु नगद बरामद भएको छ ।बौद्ध डिस्टिलरिज प्राइभेट लिमिटेडमा छापा मार्न जाँदा यो छापा ऐतिहासिक बन्न पुगेको हो ।
भारतको आयकर विभागले ओडिसा प्रान्तको बौद्ध डिस्टिलरिज प्राइभेट लिमिटेडमा छापा मार्न जाँदा १० दिन लामो चलेको यो छापा ऐतिहासिक बन्न पुगेको हो । तीन अर्ब ५२ करोड भारु नगद बरामद भएपछि प्रहरी र अधै सैनिक सुरक्षा बलको सुरक्षा घेरामा ट्रकहरूमा ढुवानी गरी जफत गरिएको थियो । यो जफत आफैमा एक रेकर्ड बनेको भारतका एक चार्टर्ड एकाउन्ट्यान्टले जनाएका छन् । नगदको थुप्रोलाई गन्ती गर्न ३६ नोट गणना गर्ने मेसिन ल्याइएका थिए ।
बुधबार पनि सुनको भाउमा वृद्धि भई नयाँ रेकर्ड, सुनको मूल्य तोलाको २ लाख ३८ हजार रुपैयाँ कायम
काठमाडौँ । बुधबार पनि सुनको भाउमा वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । दशैंपछि सुन तोलामा करिब १५ हजार बढिसकेको छ । दशैंअघि असोज १२ गते २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
बुधबार २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । ११ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ ।
बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
देशका पश्चिमी भूभागमा वर्षाको सम्भावना, तराईमा आंशिक बदली
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ ।
आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
साथै युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij