Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

इजरायल र हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

इजरायल र हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

  •  

    काठमाडौं । इजरायल र हमासबीच लामो समयदेखि जारी युद्ध अन्त्य गर्न युद्धविरामको ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरण अन्तर्गत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाएका हुन् ।

    बीबीसीका अनुसार, सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर हुनेछ । सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ र गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिने व्यवस्था गरिएको छ ।

    एपीका अनुसार, हमासले यो साता नै सबै २० जना बन्दीहरूलाई मुक्त गर्नेछ भने इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।

    राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “सम्झौताअनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई सीमासम्म फिर्ता बोलाउनेछ । यो स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ।”

    यस सम्झौताको ग्यारेन्टी अमेरिका, इजिप्ट, कतार र टर्कीले गरेका छन् । सम्झौताको शर्त पालना भइरहेसम्म दुबै पक्षले पुनः आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

    नेतन्याहूको प्रतिक्रिया र ट्रम्पलाई निमन्त्रण

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्दै सम्झौतामा पुगेको उपलब्धि साझा गरेका छन् । उनले ट्रम्पलाई इजरायली संसद ९केनेसट० मा सम्बोधन गर्न निमन्त्रणा दिएका छन् ।

    नेतन्याहूले सामाजिक सञ्जालमा लेखेका छन्, “यो इजरायलका लागि विशेष दिन हो । म सरकारलाई यो सम्झौताको स्वीकृति दिन र सबै बन्दीहरूलाई घर फर्काउन बैठक बोलाउनेछु।” उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि “महत्वपूर्ण योगदानका लागि धन्यवाद” दिएका छन् ।

    कतारको महत्वपूर्ण भूमिका

    सम्झौता सम्भव बनाउन कतारले प्रमुख भूमिका खेलेको बताइएको छ । अमेरिका, इजरायल, इजिप्ट र कतारका वार्ताकारहरू सोमबारदेखि इजिप्टको शर्म–अल–शेखमा बसेर बन्दी–स्वाप र युद्धविरामको रूपरेखा अन्तिम गरेका थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी पनि वार्तामा सहभागी थिए ।

    बाँकी विवादित विषयहरूमा आगामी वार्ता

    वार्ताकारहरूले गाजाको शासन प्रणाली र हमासको निरस्त्रीकरण जस्ता विवादास्पद विषयमा अझै सहमति जुटाउन बाँकी रहेको बताएका छन् । यी विषयमा इजिप्टमा हुने अर्को चरणको वार्ताले निर्णय गर्नेछ ।

    नेपाली दृष्टिकोण र मानवीय पक्ष

    ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा १० नेपाली विद्यार्थीहरुसहित झण्डै १,२०० जनाको मृत्यु भएको थियो । त्यस क्रममा हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई अपहरण गरेको थियो, जसको अवस्था अझै अज्ञात छ ।

    हालै विपिनको पुरानो भिडियो सार्वजनिक भएको छ, र यो युद्धविराम सम्झौताले उनको अवस्थाबारे स्पष्टता आउने आशा गरिएको छ ।

    संघर्षका क्रममा इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गर्दा हजारौं मानिसको मृत्यु र विशाल क्षति भएको छ । यो युद्धविराम सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो कूटनीतिक सफलता मानिएको छ, जसले क्षेत्रीय स्थायित्वको नयाँ आशा जगाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij