
काठमाडौँ । व्यक्तिगत सेयर कर्जामा रहेको अधिकतम २५ करोड रुपैयाँको सीमा नेपाल राष्ट्र बैंकले हटाएको छ । बुधबार जारी गरिएको परिपत्रमार्फत राष्ट्र बैंकले यो सीमा हटाएको हो ।
यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एकल ग्राहकका लागि अधिकतम २५ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था थियो ।
सरकारले गठन गरेको पुँजीबजार सुधार सिफारिस समितिले उक्त सीमा हटाउन सिफारिस गरेको थियो, जसअनुसार अर्थ मन्त्रालयले बुधबार नै निर्देशन दिएपछि राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गरेको हो ।
सेयर लगानीका अन्य व्यवस्थामा पनि लचिलो नीति
राष्ट्र बैंकले सेयर कारोबारसम्बन्धी अन्य व्यवस्थामा पनि लचिलो नीति अंगीकार गरेको छ ।
अबदेखि बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि पनि सेयरमा लगानी गर्न सक्नेछन् । यसअघि सूचीकृत संगठित संस्थाको सेयर वा डिबेन्चरमा कम्तीमा एक वर्ष अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो, जुन अब घटाएर ६ महिना बनाइएको हो ।
त्यस्तै, एक वर्ष व्यतित भएका लगानीमध्ये प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ ।
सेयर बजारमा सकारात्मक प्रभावको अपेक्षा
राष्ट्र बैंकले यी नयाँ नीतिगत परिवर्तनहरू सेयर बजारको विकास र तरलता वृद्धिका लागि गरेको बताएको छ ।
साबिकका कडाइपूर्ण व्यवस्थाका कारण बजारमा पूँजी प्रवाहमा अवरोध भएको निष्कर्ष निकालेपछि लचिलो नीति लागू गरिएको हो ।
विशेषज्ञहरूले यो निर्णयलाई सेयर बजारमा लगानीकर्ताको मनोबल बढाउने र बजारमा सकारात्मक प्रभाव पार्ने कदमका रूपमा मूल्याङ्कन गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij