
काठमाडौं । सरकारले अविरल वर्षाका कारण उत्पन्न बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। उक्त जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका हुन्।
असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण इलाममा व्यापक क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हालसम्म ३९ जनाको मृत्यु, १ जना बेपत्ता र २६ जना घाइते भएका छन्। बाढी र पहिरोका कारण इलामको सडक सञ्जालमा ठूलो क्षति पुगेको छ, जसले आवतजावत र राहत कार्यमा कठिनाइ पुर्याएको छ।
बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। ऊर्जा विकासका लागि नेपाल विद्युत् प्राधिकरणलाई २० अर्ब रुपैयाँ बराबरको ऊर्जा वण्ड चरणबद्ध रूपमा निष्काशन गर्न स्वीकृति प्रदान गरिएको छ। त्यस्तै, प्रहरी नायब महानिरीक्षकहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गरिएको छ।
साथै, भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अन्तर्गत गठन भएका सबै आयोग र जिल्ला समितिहरू खारेज गर्ने निर्णय पनि गरिएको छ। त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ।
यसैगरी, अध्यागमन र भिजिट भिसाका समस्याहरू समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ को प्रतिवेदन गृह मन्त्रालयमा कार्यान्वयनका लागि पठाइएको छ। साथै, नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समिति, २०८२ को प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता खरेलले जानकारी दिएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij