Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २३ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २३ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २३ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

    पाटन ।  आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले भोलि पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी गराउनुभयो ।

     

    “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ, पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “पदाधिकारी बोल्ने क्रम भोलि पनि जारी रहनेछ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मङ्सिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

    इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं । सरकारले अविरल वर्षाका कारण उत्पन्न बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। उक्त जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका हुन्।

    असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण इलाममा व्यापक क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हालसम्म ३९ जनाको मृत्यु, १ जना बेपत्ता र २६ जना घाइते भएका छन्। बाढी र पहिरोका कारण इलामको सडक सञ्जालमा ठूलो क्षति पुगेको छ, जसले आवतजावत र राहत कार्यमा कठिनाइ पुर्‍याएको छ।

    राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्राडा सङ्गीता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

     

    अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसमेतले प्रतिष्ठानका लागि ‘एमआरआई’ मेसिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धानपछि आरोपितविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन उपकुलपति भण्डारीसमेतले एमआरआई मेसिन खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत बदनियतपूर्ण ढङ्गले कम गुणस्तरका उपकरण खरिद गरेको र खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नबनाई बजेट मााग गरी पदाधिकारी र कर्मचारीको मिलेमतोमा खरिद गरी अनियमितता गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।

    चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने लगायतका यी हुन मन्त्रिपरिषद्का निर्णयहरू

    काठमाडौँ । मन्त्रिपरिषद् बैठकले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने, भूमि समस्या समाधान आयोग खारेज गर्ने तथा भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने लगायतका निर्णयहरू गरेको छ ।

     

    बिहीबार बसेको  बैठकले देशको सुरक्षा, प्रशासन, अर्थतन्त्र र विपत् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।सञ्चारमन्त्री  खरेलले   जनाए अनुसार बैठकका मुख्य निर्णयहरू निम्नानुसार रहेका छन् ।

    प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

    भक्तपुर।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताउनुभयो ।

    जेनजीहरूले  राजनीतिक संगठन खोल्ने प्रक्रिया अगाडि बढाए

    काठमाडौँ । जेनजीहरूले  राजनीतिक संगठन खोल्ने प्रक्रिया अगाडि बढाएका छन् । उनीहरूले बिहीबार एक भेलाको आयोजना गरी यस्तो जनाएका हुन् ।  भेलामा सहभागी  जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताए । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार  असोज २३ काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् ।

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताउनुभएको छ । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उहाँले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भन्नुभयो, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।” सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताउनुभयो । “स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पु¥याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।

    पुर्ख्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    दोधारा चाँदनी (कञ्चनपुर)।शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ । चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ । पुर्ख्यौली  सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन । यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउनुहुन्छ । “हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौं”, सिंहले भन्नुभयो, “रु तीन लाख लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो ।” उहाँले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताउनुभयो ।

    दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार

    काठमाडौँ। दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    सगरमाथा चौधरी आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’को हब बनाउन सुझाव

    सिरहा। विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानद्वारा आज जिल्लामा कार्यरत सुरक्षा निकायका कर्मचारीहरूका लागि विशेष आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धन विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीकोे सहभागी रहेको थियो । स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब सयभन्दा बढी सुरक्षाकर्मीको आँखा परीक्षण तथा आवश्यक परे चस्मा वितरण गरिने अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।

    ऊर्जा उत्पादकहरूले ऊर्जामन्त्री घिसिङलई बुझाए  ७ बुँदे  माग

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले सो माग पत्र बुझाएका हुन् ।भेटमा अध्यक्ष कार्कीले  बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुर्ननिर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए ।

     

    २०८० जेठ ३२ र असार १ गते, २०८१ असार/साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त आयोजनाहरु सबैलाई मध्येनजर गरी विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमतिपत्रको अवधि, कर्जा पुर्नतालिकीकरण, लङटम फाइनान्सिङ र भन्सार महसुलमा छुट लगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने पनि अध्यक्ष कार्कीले बताएको इप्पानले जनाएको छ ।

    सुनको मूल्य बढेर बिहीबार फेरि नयाँ रेकर्ड, तोलाको रु दुई लाख ३९ हजार २०० कायम कायम

    काठमाडौँ । सुनको मूल्य बढेर बिहीबार फेरि नयाँ रेकर्ड कायम भएको छ ।   अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको हो ।

    अस्थायी ‘डाइभर्सन’ बनाएर बिपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार

     

    काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो । मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

     
    व्यक्तिगत सेयर कर्जामा २५ करोडको सीमा हट्यो, राष्ट्र बैंकले जारी गर्‍यो नयाँ परिपत्र

    काठमाडौँ । व्यक्तिगत सेयर कर्जामा रहेको अधिकतम २५ करोड रुपैयाँको सीमा नेपाल राष्ट्र बैंकले हटाएको छ । बुधबार जारी गरिएको परिपत्रमार्फत राष्ट्र बैंकले यो सीमा हटाएको हो ।यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एकल ग्राहकका लागि अधिकतम २५ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था थियो ।

     

    सरकारले गठन गरेको पुँजीबजार सुधार सिफारिस समितिले उक्त सीमा हटाउन सिफारिस गरेको थियो, जसअनुसार अर्थ मन्त्रालयले बुधबार नै निर्देशन दिएपछि राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गरेको हो ।

    इजरायल र हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

    काठमाडौं । इजरायल र हमासबीच लामो समयदेखि जारी युद्ध अन्त्य गर्न युद्धविरामको ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरण अन्तर्गत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाएका हुन् ।

    बीबीसीका अनुसार, सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर हुनेछ । सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ र गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिने व्यवस्था गरिएको छ ।

     

    एपीका अनुसार, हमासले यो साता नै सबै २० जना बन्दीहरूलाई मुक्त गर्नेछ भने इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।

    देशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । 

     

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij