Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको अख्तियारमा बयान

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको अख्तियारमा बयान

  •  

    काठमाडौं ।  सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ। आयोगका स्रोतका अनुसार बिहीबार महरासँग भेपको बट्टाभित्र लुकाइएका नौ किलो सुन प्रकरणमा उनले तत्कालीन भन्सार प्रमुखलगायत कर्मचारीहरूसँग गरेको भनसुनबारे विस्तृत रूपमा बयान लिइएको हो।

    महरा बिहीबार टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित भई बयान दिएका हुन्। आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्भावित भूमिकाको अनुसन्धान गरिरहेको र महराको बयान सोही सन्दर्भमा लिइएको जनाएको छ। अनुसन्धान अधिकारीका अनुसार, महरासँगको सोधपुछपछि प्राप्त विवरणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइनेछ।

    यसअघि महरा यसै प्रकरणमा पक्राउ परेपछि धरौटीमा रिहा भएका थिए। उनका छोरा राहुल महरा पनि यसै मुद्दामा पक्राउ परेका थिए।

    २०७९ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेपको बट्टाभित्र लुकाइएको नौ किलो सुन बरामद भएपछि उक्त प्रकरणले राजनीतिक तहसम्म ठूलो तरंग ल्याएको थियो। घटनामा संलग्न भनिएका व्यक्तिहरू क्रमशः पक्राउ परेपछि अनुसन्धानको दायरा अझ विस्तार हुँदै गएको छ।

    आयोगका एक अधिकारीले भने, “महरासँगको बयान अनुसन्धान प्रक्रियाको एक हिस्सा हो। अहिले पनि थप प्रमाण र विवरण संकलन भइरहेको छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij