
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २४ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
काठमाडौंमा आन्दोलन र प्रदर्शन गर्न अनुमति नदिइने
काठमाडौं । काठमाडौं जिल्लामा असोज २५ गते शनिबार हुने भनिएको विभिन्न समूहहरूको मोटरसाइकल र्याली तथा प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा जारी सूचनामा भदौ २५ गते बिहान ११ बजेबाट लागू हुने गरी उक्त निषेधाज्ञा जारी गरिएको उल्लेख छ। हालका दिनहरूमा “न्भल श् आन्दोलन” नामक समूहका युवाहरूले आयोजना गर्ने भनिएको प्रदर्शनका कारण सार्वजनिक सुरक्षा र शान्ति भंग हुने आशंका देखिएकाले यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ ।
भोलि शनिबार बिहानैदेखि सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्णरूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । शुक्रबार बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको र बाँकी दिउँसो मङ्गलटारको माम्तीमा ट्रयाक खोलेपछि अवरुद्ध राजमार्गमा सवारी खुलाइन सहज भएको हो ।
अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारीसाधनको नीलो नम्बर प्लेट खारेज
काठमाडौँ ।सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत ९कन्सुलेट जनरल०ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ ।
अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तरराष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम आज यो निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० वटाले यो सुविधा लिएका थिए ।
एटीमबाट झिक्न पाउने रकमको सीमा घटाइए, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने
काठमाडौँ। एटीमबाट झिक्न पाउने रकमको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको हो । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाए अनुसार प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।
यसअघि डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिने व्यवस्था थियो । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूसहित सर्वदलीय बैठक
काठमाडौँ। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूसहित सर्वदलीय बैठक भइरहेको छ । बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।
‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरपालिकाद्वारा पाँच लाख सहयोग
पाटन (ललितपुर)। यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गर्नुभयो । यही असोज १० गते बसेको महानगर कार्यपालिका बैठकले गरेको निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको महानगरप्रमुख महर्जनले जानकारी गराउनुभयो ।
भारतले काबुल मिसनलाई पूर्ण दूतावासमा उन्नत गर्दै, तालिबानसँगको सम्बन्ध अझ गहिरिने सङ्केत
श्रीनगर (भारत) (रासस/एपी) ।भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने सङ्केत गरेको छ । भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार नयाँदिल्लीमा अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटपछि यो घोषणा गर्नुभएको हो । सन् २०२१ मा अमेरिकाको दुई दशक लामो सैन्य उपस्थितिपछि तालिबानले सत्ता कब्जा गरेयता भारत र अफगानिस्तानबीचको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हो । विदेशमन्त्री जयशङ्करले अफगानिस्तानको विकासका लागि भारतको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै व्यापार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “हामीबीचको घनिष्ठ सहकार्यले तपाईंको राष्ट्रिय विकास मात्र होइन, सम्पूर्ण क्षेत्रको स्थिरता र सहनशीलतालाई पनि बल पुर्याउनेछ ।” संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध सूचीमा रहेका अफगान तालिबान नेतामध्ये एक मुत्ताकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को समितिबाट अस्थायी यात्रा अनुमति पाएपछि बिहीबार नयाँदिल्ली आइपुग्नुभएको थियो ।
प्रचण्डद्वारा बृहत राष्ट्रिय सहमतिको आवश्यकतामा जोड
ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका छन् ।शुक्रबार ललितपुरमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचारविरुद्ध चालेको अभियानबाट अत्तालिएको बिचौलिया र दलालहरूको ‘सेटिङ’ले आफूलाई सत्ताबाट हटाएको उनले पुनः दाबी गरेका छन् ।
राष्ट्र बैंकद्वारा दैनिक २५ किलो आयात गर्न पाइने कोटा बढाइयो
काठमाडौं। बजारमा सुन अभाव भएपछि नेपाल राष्ट्र बैंकले आयातको कोटा बढाएको छ।राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पु¥याएको छ। राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको निर्णयसहित शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ।
‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी
काठमाडौँ।खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार दुवै संस्था खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापित सेवा प्रणालीको प्रवर्द्धन गर्न संयुक्त रुपमा काम गर्ने र यसअन्तर्गत मानव मलमूत्र व्यवस्थापन, फोहर पानी व्यवस्थापन, ठोस फोहर व्यवस्थापन र नगरव्यापी समावेशी सरसफाइसम्बन्धी कार्यक्रममा साझा पहल गरिने उल्लेख गरिएको केन्द्रका प्रमुख एवं इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।
भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारी
काठमाडौँ । भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ । ६ महिना देखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान भैरहवाबाट फेरि सुरु हुन लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ ।थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, अल जजिरा पनि उडानको तयारीमा छ ।
सुनको मूल्यमा चार हजार दुई सयको गिरावट, शुक्रबार सुन तोलाको रु दुई लाख ३५ हजार कायम
काठमाडौँ ।सुनको मूल्यमा शुक्रबार चार हजार दुई सयको गिरावट भई रु दुई लाख ३५ हजार कायम भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको हो ।
एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, ६ प्रतिशत बोनसपछि कारोबार मूल्य ६७६ रुपैयाँ ४२ पैसा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बैंकको शेयरमा ६ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपछि बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। नेप्सेले यो मूल्य अघिल्लो कारोबार दिन अर्थात् बिहीबारको अन्तिम मूल्य ७१७ रुपैयाँका आधारमा समायोजन गरेको जनाएको छ। यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij