
काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिक रहेको राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटको घटना भएको महिनौँ बितिसक्दा पनि लुटिएको रकम र सुनबारे केही पत्ता लागेको छैन।
आन्दोलन हिंसात्मक बनेपछि प्रदर्शनकारीको समूहले बैंकमा तोडफोड गरी लुटपाट गरेको थियो। बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगदसहित कुल ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको थियो।
हाल यो घटनाबारे जिल्ला प्रहरी परिसर, भद्रकालीले अनुसन्धान गरिरहेको छ। प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हालसम्म सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ पक्राउ परेका छन्। उनीहरूमाथि चोरी कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाबाट करिब चार लाख रुपैयाँ र केही परिमाणको सुन बरामद भए पनि बाँकी रकम र सुनबारे कुनै सुराग फेला परेको छैन। पक्राउ परेकाले आफूसँग बरामद बाहेक अरु सम्पत्ति नलिएको दाबी गरेका छन्।
प्रहरीले अहिले म्यानुअल र प्राविधिक दुवै माध्यमबाट अनुसन्धान अघि बढाएको छ। सार्वजनिक भिडियो, तस्बिर र सीसीटीभी फुटेजहरूको आधारमा अनुसन्धान भइरहेको छ। प्रहरीले बिल–बिजक बिना सुन किनबेच नगर्न आग्रह गर्दै सुनचाँदी पसलहरूमाथि निगरानी बढाएको छ।
यसैबीच, घटना भएको पाँच दिनपछि ललितपुरका सुरेश देउलाले ५ लाख १० हजार ५ सय रुपैयाँ प्रहरीमा बुझाएका थिए। उनले प्रहरीलाई लुटपाटको भिडिओ खिच्ने क्रममा लुटेराले “तैले यही खोजेको होला” भन्दै पैसाको बिटो फालेको बताए। तर उनी लुटपाटमा संलग्न नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ।
उता, लुटपाटका बेला नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको भए पनि उनीहरूको संलग्नता प्रमाणित हुन नसकेपछि मुद्दा चलाइएको छैन। प्रहरी स्रोतका अनुसार सेनाले लुटपाट गर्न खोजेको आरोप लगाएको थियो, तर कुनै प्रमाण फेला नपरेपछि उनीहरूलाई रिहा गरिएको हो।
यसरी, महिनौँ बितिसक्दा पनि ३८ करोडभन्दा बढी बराबरको सुन र नगद अझै बेपत्ता रहँदा अनुसन्धान अझै जारी छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij