
काठमाडौ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि. र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ । बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए । कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपीएल हुन लागेकाेमा खुसी व्यक्त गरे । यस्तै घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए ।
नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउदै यो सहकार्यले व्यवसायीक यात्रा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सम्झौता नेपाल प्रिमियर लिग (एनपीएल ) को दोस्रो संस्करणको लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ । नेबिको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन चर्चित छन् ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ ।एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij