Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    कार्यान्वयनमा आएन प्रमाणपत्र तहमा नर्सिङ र एचए अध्यापन गराउने निर्णय

    गण्डकी । गोरखाको आँप पीपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) र बागलुङको धवलागिरि अस्पतालमा नर्सिङ विषयको पढाइ सुरु गर्ने गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आउन सकेन । चालु आर्थिक वर्षदेखि  कार्यान्वयनमा आउने गरी गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०सँगका सहकार्यमा प्रमाणपत्र तहमा ती विषयको पठनपाठन सुरुआत गर्ने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध १६ रिट सर्वोच्चमा

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनविरुद्ध थप पाँच नयाँ रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आइतबारसम्म दर्ता भएका रिटको संख्या १६ पुगेको छ।

    यसअघि ११ वटा रिट दर्ता भएका थिए भने, नयाँ पाँच रिट दर्ता भएपछि विघटनलाई असंवैधानिक दाबी गर्दै सर्वोच्च अदालतमा विवादको संख्या बढेको हो।

    जेष्ठ नागरिकका लागि हवाई भाडामा विशेष छुट, ८० वर्षमाथि ८० प्रतिशतसम्म

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरूबीच हवाई भाडासम्बन्धी नयाँ सहमति भएको छ। कात्तिक २ गते क्यानका महानिर्देशकको अध्यक्षतामा वायु सेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायु सेवा कम्पनीका प्रतिनिधिहरूबीच सम्पन्न बैठकले जेष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गर्ने निर्णय गरेको हो।

    राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा एकजुट हुनुपर्छः पूर्वउपसभापति श्रेष्ठ

    पाटन । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताउनुभएको छ ।

     

     

    ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताउनुभयो ।

    ओलीको आरोपः ‘प्रचण्डले प्रधानमन्त्री सिफारिसबारे भयानक झूट बोले’

    काठमाडौँ  । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले प्रधानमन्त्री सिफारिसको विषयमा झूट बोलेको आरोप लगाएका छन्।

    आईतवार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले प्रचण्डले आफूले नगरेको काम गरेको भनी गलत आरोप लगाएको स्पष्ट पारे। उनले राष्ट्रपतिको आग्रहमा प्रधानमन्त्रीको सिफारिसबारे छलफल भए पनि सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको दाबी गरे।

    भारत–तालिबान नजिकिँदै, पाकिस्तानको तीव्र असन्तोष

    काबुल ।अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामाबादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ ।

     

     

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गर्नुभयो भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।

     

    टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

    काठमाडौँ । कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका  उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । 

     

    सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर  क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गर्नुभएको हो ।

    'हरित् निर्वाचन'का लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ ।

     

     

    आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई हरित निर्वाचन ९ग्रीन इलेक्सन० समयसापेक्ष हुने भन्दै यसका लागि आग्रह गर्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो ।

    टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवाद

    काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवादमा परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रक्रियागत ढिलाइ र विवादबीच टेण्डर पुनर्मूल्यांकन गर्न निर्देशन दिँदा टेलिकमको आन्तरिक निर्णय प्रक्रियामा नयाँ बाधा उत्पन्न भएको हो ।

     

    नयाँ सरकार गठन भएपछि असोज ८ गते मूल्य प्रस्ताव खोल्ने प्रक्रिया स्थगित गरेको सूचना जारी गरिएको थियो । त्यतिखेर  प्रक्रिया रद्द गरिएको थिएन । पछिल्लो पटक मन्त्रालयको निर्देशनमा विवादास्पद ठहरिसकेको कम्पनी ह्वेल क्लाउडलाई पुनःप्राविधिक मूल्यांकन गर्न भनिएको छ । यसरी फेरि प्राविधिक मूल्यांकन गर्न भनिएको विषयलाई कतिपयले प्राधिकरणको विश्वसनीयतामा ह्रास ल्याउने जनाएका छन् ।

    शेयर बजार : नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २,५०३.८५ बिन्दुमा, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार

    काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १६.६७ अंकले वृद्धि भई २,५०३.८५ बिन्दुमा पुगेको छ । यो वृद्धि ०।६७ प्रतिशतको बराबर हो।

    आज कूल २ अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ६१ लाख ९९ हजार ९२२ कित्ता शेयर किनबेच भएका छन्।

    कृषिमा आधारित एकीकृत स्वामित्व अवधारणा नेकपा विप्लवद्वारा सार्वजनिक

    काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी विप्लवले ‘एकीकृत स्वामित्व अवधारणा’अन्तर्गत कृषि उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत योजना बारे जानकारी गराएका हुन् । 

     

    लामो समयदेखि उत्पादनसँग पार्टी गतिविधिलाई जोड्दै आएको जनाउँदै विप्लवले यो वर्ष वर्षेबाली उत्पादन अपेक्षाकृत राम्रो भएको जानकारी दिए । साथै आउँदो हिउँदे बालीलाई पनि थप व्यवस्थित र वैज्ञानिक ढंगले उत्पादन गर्ने रणनीति लिइएको जनाए ।

    पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वत ।साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो । हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गर्नुभयो ।

    अख्तियारद्वारा सचिव डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आइतबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको  भनी  संलग्नहरूविरुद्ध कानुनी कारबाहीको माग गरिएको हो ।

    पहिलो त्रैमासिकमा सरकारको पुँजीगत खर्च खुम्चियो ,आम्दानी भन्दा खर्च बढी

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज)मै सरकारको खर्च आम्दानी भन्दा बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु प्रकृतिको खर्च बढेर गएको छ ।असोज मसान्तसम्म सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यस अवधिमा राजस्व, अनुदान र अन्य गरी  आम्दानी   २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ मात्र भएको देखिन्छ । तीन महिनामै सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको अन्तर देखिएकाले सरकारले ऋण लिएर खर्चको व्यवस्थापन गर्नुपर्ने  अवस्था आएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई प्रयोग गर्न दिइने

    काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण,  प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न दिइने भएको छ । महाप्रबन्धक प्रदीप अधिकारीले  प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी  सार्वजनिक गरेका हुन् ।

     

    सञ्चालक समितिको ३० असोजमा बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आइतबार हस्ताक्षर गरेसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ।

    केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग

    काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् । 

     

     

    पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो ।

     

    पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी  नेतृत्वमा बसिरहने अस्वाभाविक र अलोकतान्त्रिक अभ्यास गरिरहेको उहाँहरूको आरोप छ ।

    ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म ६ करोड १० लाख संकलन, नागरिक र निजी क्षेत्रको सक्रिय योगदान

    काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी प्रदर्शन’ का क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६ करोड १० लाख रुपैयाँ संकलन भएको छ।

    अर्थ मन्त्रालयका अनुसार आइतबार बिहानसम्म कोषमा सर्वसाधारण, व्यापारी, निजी क्षेत्रका प्रतिनिधि, गैरआवासीय नेपाली, संघ–संस्था र विकास साझेदारहरूले योगदान गरेका छन्। सरकारले असोज ८ गते पुनर्निर्माणका लागि सार्वजनिक सहभागिता र अपनत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कोष स्थापना गरेको थियो।

    भरतपुर रंगशाला निर्माणमा ढिलाइः ७८ करोड ५० लाखको परियोजना सुस्त, १० करोडभन्दा बढी रकम फिर्ता

    चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले काम अघि बढाउन नसकेपछि भरतपुर रंगशाला निर्माण परियोजना हाल भरतपुर महानगरपालिकाको जिम्मामा छ। निर्माण कार्यको जिम्मा हिमालयन कालिञ्चोक बिबिआर जेभी लाई दिइएको छ। कुल ७८ करोड ५० लाख रुपैयाँमा ठेक्का गरिएको यो परियोजना २०८३ पुस २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।

    अनमोल पायोनियर्स विजेता घोषित भएसँगै इनडोर सुपर लिग सम्पन्न

    काठमाडौँ ।  काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिद्वारा आयोजना गरिएको इनडोर सुपर लिग (Indoor Super League) सफलतापूर्वक सम्पन्न भएको छ। रोमाञ्चक फाइनल खेलमा अनमोल पायोनियर्स (Anmol Pioneers) ले माया हेटौंडा रोयल्स (Maya Hetauda Royals) लाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

     
    पोखरा विश्वविद्यालयद्वारा च्यासलको श्रमिक शान्ति क्याम्पस अंगीकरण, एआई पढाइने

    काठमाडौँ । पोखरा विश्वविद्यालयले ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई अंगीकरण गरेको छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक क्याम्पसलाई पोखरा विश्वविद्यालयले पूर्ण रूपमा आफ्नो आङ्गिक क्याम्पसको रूपमा गाभेको जनाएको हो ।

     

    शुक्रवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा  विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्रा. बुद्धिराज जोशीले काठमाडौँमा पहिलो आङ्गिक क्याम्पसको रूपमा श्रमिक शान्ति क्याम्पसलाई लिएको बताए ।उनले त्रिभुवन विश्व विद्यालयको समेत स्वीकृतिमा उक्त क्याम्पसमा पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्न लागेको बताए ।

    बिजुलीको झिलमिलीले माटाका दियोको उत्पादनमा ह्रास , कुमालको पेसा संकटमा

    काठमाडौँ । तिहार (दीपावली)मा माटाका दीप बाल्ने सांस्कृतिक तथा धार्मिक  आस्थामा ह्रास आएकाले कुमालहरूले बनाउने माटाका दीपको ठाउँमा बिजुलीका झिलिमिलीले लिन पुगेका छन् । काठमाडौँमा  प्रजापति समुदायका हातले बनाइने माटाका दियो तिहार पर्वको विशेष पहिचान धमिलिँदै गइरहेको हो ।

     

    पछिल्ला वर्षहरूमा  विदेशी बत्तीको तीव्र आयातले माटोको दियोको उपयोग तिहारमा  ओझेल हुँदै गएको छ ।चालु आर्थिक वर्षको पछिल्लो दुई महिना (साउन र भदौ) मा मात्रै करिब २६ करोड ८ लाख ७९ हजार ७९२ रुपैयाँ बराबरको विभिन्न डिजाइन र रङ्गका झिलिमिली बत्ती आयात भएको देखिन्छ ।गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १ अर्ब ४३ करोड बराबरको ८० लाख ६८ हजार पिस झिलिमिली बत्ती आयात भएको थियो।भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा बढी २०८०÷८१ मा १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस झिलिमिली आयात भएको थियो ।

    सुनको मूल्य घटेर आइतबार दुई लाख ५३ हजार २०० मा  कायम

    काठमाडौँ । सुनको मूल्य घटेर आइतबार दुई लाख ५३ हजार २०० मा  कायम भएको छ । सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको हो ।   गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     
     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij