Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images
सम्पादकीय /प्रकाशकीय

निकासका लागि तिहारमा संकल्पको दियो बालौँ

निकासका लागि तिहारमा संकल्पको दियो बालौँ

  • पछिल्ला वर्षहरूमा एक पछि अर्को गरी विपत्ले देशलाई चरम संक्रमणको भुमरीबाट निस्कन दिएको छैन् । कोभिडले धराशायी भएको अर्थतन्त्रले विस्तारै गतिलिइरहेका बेला बाढी पहिरोको विपत्ले अर्थतन्त्रलाई गतिलिन दिएको देखिएन् । विश्वको ठुल्ठुला आक्रमणले पनि अप्रत्यक्षरूपमा अर्थतन्त्रलाई धेरथोर प्रभावित गरिरहेकै देखियो । सन् २०२६मा अलिकति धनी भएको देशमा दरिन लागेको पूर्व सन्ध्यामा जेनजीको आन्दोलनले अर्थतन्त्रलाई तल घचेटिदिएको छ ।

    गत आवको पछिल्ला महिनामा औद्योगिक क्षेत्रमा केही गतिविधि भएको हो कि संकेत गर्ने आयात वृद्धि भइरहेको तथ्यांकले उद्योगी व्यवसायीहरूलाई लगानी लगाउन प्रोत्साहित गरिरहेका बेला जेनजी आन्दोलन सरकारी संरचनासँग निजी क्षेत्रका संरचनालाई पनि ध्वस्त पारेर फरक खालको विपत् निम्त्यायो । सुरक्षा क्षेत्र पनि के गर्ने के नगर्ने अवस्थामा पुगेको देखियो । भ्रष्टाचार विरोधी माग लिएर शान्तिपूर्ण आन्दोलन गरेका जेनजीहरूमा भएको भनिएको घुसपैठले अर्थतन्त्रलाई फेरि एकपटक धराशायी बनाइदिएको सार्वजनिक अभिव्यक्ति पढिने सुनिने अवस्था  आएको छ ।

    निकासका लागि  विद्यमान संकटको लागि निकासका लागि पहल भएका छन् । निजी क्षेत्रले खरानी टकटक्याएर उठ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । राजनीतिकरूपमा स्थापित अन्तरिम सरकारले पनि फागुन २१ गते निर्वाचन गराएर जेनजी आन्दोलनबाट विस्थापित हुन पुगेको सरकारको ठाउँमा नयाँ सरकार ल्याउन निर्वाचनको घोषणा गरेको छ । निर्वाचनबारे राजनीतिकरूपले विभिन्न अड्कलहरू भइरहेका छन् । निर्वाचन होला? निर्वाचन नहोला? निर्वाचन पछि आउने सरकार कस्तो होला ? आदिइत्यादि ? सवालहरू चौतारीको चियापसलमा चिया लिएर गफिने देखि पाँचतारे होटलको रेस्टरन्टमा ह्विस्कीको चुस्की लिनेहरूबीच पनि फागुन २१को निर्वाचनबारे शंका उपशंकाको रूपमा सुनिन थालेका छन् ।

    गरिखाने जनतालाई अर्थतन्त्र गतिशील भयो, हाटबजारमा भारीको खरिद बिक्री गतिशील भए भारी बोकी दैनिक गुजाराको जोहो सुनिश्चित हुने चिन्ताले पनि त्यसरी नै सताइरहेको छ । लगानीकर्ताहरूले लगानी लगाउँ फेरि कोही आउँला र ध्वस्त पारिदेला पीर छ । शान्ति सुरक्षाको कमजोर र निरीह व्यवस्थाले उनीहरूको विश्वासलाई हल्लाइ दिएको छ । ठिक यही परिवेशमा हामी नेपाली तिहार मनाइरहेका छौँ । अँध्यारोबाट उज्यालोको बाटोको खोजीमा, विपन्नताबाट सम्पन्नताको खोजीमा , आम नेपालीको समृद्धिको खोजीमा, तिहार मनाइरहेका छौँ । 

    अहिले निकासका लागि फागुन २१को निर्वाचनको सफलताबारे देखिएको  अँध्यारोलाई चिर्न सबैको संकल्प एकमना हुनुपर्ने छ । राजनीतिको बढी तानतानले अर्थतन्त्र झन् जटिल धरातलमा भासिने चिन्ता आमजनको छ । यो अँध्यारोको चिन्ता हटाउन यो तिहारमा फागुन २१को सफल निर्वाचन र निर्वाचनबाट स्वच्छ र पौरखी सरकारको खाँचो छ । त्यसको सफल स्थापना  लागि  यो तिहारमा संकल्पको दियो बाल्न आग्रह गर्दै सबै पाठक, शुभचिन्तक र विज्ञापनदातामा तिहारको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij