काठमाडौँ । चीनसँग जोड्ने रसुवामा नाकाको बाटोमा निर्माणाधीन बेलिब्रिज लच्किएकाले सो नाकाबाट मालसामान आयात निर्यातको काम निर्धारित समयमा सुरु हुन नसक्ने देखिएको छ । बाढीबाट क्षतिग्रस्त भएको बाटो खुलाउन निर्माणाधीन बेलिब्रिजको बीच भाग लच्किएकाले सो नाका सञ्चालनको पूर्व निर्धारित मिति झन् धकेलिएको हो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी भट्टराईले यसअघि जनाए अनुसार तिहारदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । काम द्रुतगतिमा भइरहेको भएपनि बेलिब्रिज बीचमा लच्किएकोले २५ गते कात्र्तिक पछि सञ्चालनमा आउने भएको हो ।
सम्बद्ध स्रोतका अनुसार लच्किएको भाग मुन्तिर नयाँ पिलर हाल्नुपर्ने भएको छ । त्यो कम सकिएपछि बाँकी काम अगाडि बढाइने भएको छ । यो काम सकिन केही समय लाग्ने भएकाले २५ गते अगाडि सञ्चालनमा आउने सम्भावना थोरै भएको छ ।
गत असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने पक्की मोटर गुड्ने पुल बगाएको थियो। जसका कारण रसुवा नाका भएर चीनसँगको व्यापार ठप्प भयो । यो नाका सञ्चालनमा ल्याउन बेलिब्रिज निर्माणको काम चीनले गरिरहेको छ । रसुवा नाका र तातोपानी नाकाबाट चीनबाट हुने वैदेशिक व्यापार बन्द भएपछि केरलाबाट वैकल्पिक बाटो प्रयोग भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij