काठमाडौँ । भारतमा आयोजित सौर्य ऊर्जा सम्बन्धी सम्मेलनमा सहभागी हुँदै ऊर्जामन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय लगानी गर्न आग्रह गरेका छन्। उनले नेपालको स्वच्छ ऊर्जाको यात्रा अब नयाँ युगतर्फ प्रवेश गर्न लागेको उल्लेख गर्दै जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य क्षमता, र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनका माध्यमबाट क्षेत्रीय ऊर्जा सुरक्षामा नेपालको योगदान महत्वपूर्ण हुने बताए।
मुख्य वक्ताका रूपमा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, “हामीसँग दक्षिण एशियालाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने क्षमता छ। म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई आह्वान गर्दछु—नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्।”
उनले नेपालको जलविद्युतलाई दक्षिण एशियाको स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक स्रोतको रूपमा चित्रण गर्दै यसको प्रयोगले क्षेत्रीय ग्रिडलाई स्थिर र लचिलो बनाउन सहयोग पुर्याउने बताए। सन् २०३५ सम्म १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्यसहित नेपाल–भारतले उच्च क्षमताका प्रसारण लाइन निर्माणका काम अघि बढाइरहेको उनले जानकारी दिए।
मन्त्री घिसिङले जलवायु परिवर्तनका कारण ऊर्जा प्रणाली र जीविकोपार्जनमा परिरहेका असरबारे चिन्ता व्यक्त गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij