काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आजकात्तिक ११ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ ।बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ ।
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार
काठमाडौँ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भोलि त्रिपक्षीय छलफल हुँदै
काठमाडौँ । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिनुभयो ।
ऊर्जामन्त्री घिसिङद्वारा नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय लगानीका लागि आह्वान
काठमाडौँ । भारतमा आयोजित सौर्य ऊर्जा सम्बन्धी सम्मेलनमा सहभागी हुँदै ऊर्जामन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय लगानी गर्न आग्रह गरेका छन्। उनले नेपालको स्वच्छ ऊर्जाको यात्रा अब नयाँ युगतर्फ प्रवेश गर्न लागेको उल्लेख गर्दै जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य क्षमता, र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनका माध्यमबाट क्षेत्रीय ऊर्जा सुरक्षामा नेपालको योगदान महत्वपूर्ण हुने बताए।
नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त
त्रिशूली (नुवाकोट)। यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् । चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन् ।
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई Wonders Nepal Pvt. Ltd. द्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका हुन् ।
शेयर बजारमा हरियाली, नेप्से २५७१.३४ पुग्यो , कारोबार साढे चार अर्ब बढी
काठमाडौँ । शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा उक्लेको हो । मंगलबार शेयरबजारमा ३१४ कम्पनीका शेयर कारोबार भए । कुल ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ कारोबारबाट ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
स्मार्ट सिटी निर्माणतर्फ ऐतिहासिक पहल, प्रहरी र प्रवासीबीच सहकार्यको नयाँ उदाहरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो।
सुपथ मूल्य पसलबाट साल्ट ट्रेडिङद्वारा ९ करोड बढीको खाद्यान्न बिक्री
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसलबाट ९ करोड बढीको खाद्यान्न बिक्री गरेको छ।चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट ९ करोड २० लाखको बिक्री गरेको कम्पनीका बजार प्रबन्धक प्रज्वल प्रधानले जनाएका हुन् ।
भदौ ३० गतेदेखि छठसम्म संचालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ९ करोड २० लाख रुपैयाँको खाद्यान्न बिक्री भएको जनाइएको हो ।
पहिलो तीन महिनामा आयकर घट्यो
काठमाडौँ । चालु आर्थिक वर्ष पहिलो तीन महिनामा आयकर घटेको छ । साउनदेखि असोजसम्मको तीन महिनामा आयकर संकलनमा ९ प्रतिशतको गिरावट देखिएको हो ।अर्थ मन्त्रालयका अनुसार सो अवधिमा ४६ अर्ब ९० करोड ६८ लाख रुपैयाँ आयकर संकलन भएको छ। गत आवको सोही अवधिमा ५१ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ आयकर संकलन भएको थियो।
भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र गैरकरलगायत अन्य सबै राजस्व शीर्षकमा वृद्धि देखिएपनि आयकर संकलन करिब ५ अर्ब रुपैयाँले घटेको हो।आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले जानकारी सार्वजनिक गरे अनुसार घरजग्गा कारोबार तथा सेयर बजारमा आएको मन्दीले पुँजीगत लाभकर संकलनमा गिरावट आएको छ ।
मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेर कायम तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।
म्याग्दी । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । “सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ । ” मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाले पर्यटक कम आएका जनाइएको छ ।
काठमाडौँ । सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धामा लाने योजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको छ ।सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको हो । सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्ने गरी आवश्यक व्यवस्था सरकारले यसबाट मिलाउन खोजेको हो ।
गोरखा। उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिनुभयो । “गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।” सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।
काठमाडौँ । देशमा हाल पश्चिमी वायुका साथै अरब सागरमा विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले आज देशभर मौसम साधारणतया बदली रहने अनुमान गरिएको छ।दिउँसोका समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात वा वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
रासायनिक विषादीको असरले कुलेखानी इन्द्रसरोवरमा माछाको उत्पादन र तौल घट्दो क्रममा
हेटौँडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो ।
करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज ९पिँजरा० राखेर प्रतिघनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिनुभयो । पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij