Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको तयारीमा केन्द्रित छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको तयारीमा केन्द्रित छलफल हुने

  • काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, ललितपुरमा बस्दैछ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी तथा हालको राजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने भएको छ।

    गत असोज २८ गतेदेखि सुरु भएको बैठकले भदौ २३ र २४ गतेको ‘जेन–जी’ प्रदर्शन, त्यसपछि गठन भएको अन्तरिम सरकार र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्थामा कांग्रेसको भूमिकाबारे पनि समीक्षा गरिरहेको छ।

    महाधिवेशन तयारी मुख्य एजेन्डा

    बैठक आज विशेष रूपमा पार्टीको आगामी १५औँ महाधिवेशनमा केन्द्रित हुनेछ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मङ्सिरभित्र समाप्त हुँदैछ, जसका कारण पार्टीभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बहस चर्किएको छ।

    महाधिवेशन समयमै गर्नुपर्ने आवाज तीव्र बनेको छ भने केही नेताहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान पनि सञ्चालन गरेका छन्। स्रोतका अनुसार करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।

    कार्यवाहक सभापतिको नेतृत्वमा बैठक

    सभापति देउवाले असोज २८ गते स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता कार्यसमितिका बैठकहरू उनको सभापतित्वमै भइरहेको छन्।

    पछिल्लो बैठक र आजको तयारी

    तिहार तथा छठ पर्वका कारण स्थगित बैठक कात्तिक १ गते अन्तिम पटक बसेको थियो। सो बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो।

    आजको बैठकबाट कांग्रेसले महाधिवेशनको समय, प्रक्रिया र तयारीबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ। पार्टीभित्र संगठन सुदृढीकरण र नेतृत्व संक्रमणका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij