Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

उद्यमी विरेन्द्र बस्नेत राजनीतिमा: इटालीका बर्लुस्कोनीजस्तै नेपाली संस्करण बन्ने संकेत?

उद्यमी विरेन्द्र बस्नेत राजनीतिमा: इटालीका बर्लुस्कोनीजस्तै नेपाली संस्करण बन्ने संकेत?

  • काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन हुने–नहुने अन्योल बीच पनि राजनीतिक दल दर्ता र मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया निर्वाचन आयोगमा तीव्र रूपमा चलिरहेको छ।

    यसबीच, नेपालका सबैभन्दा सफल उद्यमीमध्येका एक बुद्ध एयरका मालिक विरेन्द्रबहादुर बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ दल दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन्। आयोगमा दर्ता भइसकेको उक्त दलले आफूलाई लोकतान्त्रिक धारमा आधारित र मुलुकलाई गति दिने उद्देश्यको पार्टी भएको बताएको छ।

    बस्नेतको राजनीतिक प्रवेश : असामान्य कदम

    व्यवसायिक क्षेत्रमा ठूला सफलता पाइरहेका उद्यमीहरू प्रायः विभिन्न पार्टीको समर्थनमा सांसद वा मन्त्री बन्ने गरेका छन्। तर स्वयं पार्टी खोलेर प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रिएको घटना नेपालमा पहिलोपटक देखिएको हो।

    पार्टीको अध्यक्ष दिनेश प्रसाईं (समाजशास्त्री तथा पर्यटन व्यवसायी) र महासचिव पियूस कायस्थ (अन्तर्राष्ट्रिय संस्थामा अनुभवी पेशेवर) रहेका छन्। बस्नेत सदस्यको भूमिकामा भए पनि पार्टीका वास्तविक हर्ताकर्ता उनी नै रहेको ठानिन्छ।

    पार्टीको विधानअनुसार पदाधिकारीहरूले चुनाव लड्न नपाउने व्यवस्था छ, जसका कारण बस्नेत औपचारिक रूपमा सदस्य छन्, तर आफैँ चुनावी प्रतिस्पर्धामा उत्रने सम्भावना बलियो छ।

    नेपालमा व्यवसायी र राजनीति

    नेपालको इतिहासमा विनोद चौधरी, रुप ज्योती, राजेशकाजी श्रेष्ठ, राजेन्द्र खेतान लगायतका व्यापारीहरूले चुनाव लडे वा मन्त्री बनेका छन्। तर, स्वतन्त्र राजनीतिक दल खोलेर मैदानमा उत्रिएको उदाहरण भने बस्नेतकै पहिलो हो। उनका पिता सुरेन्द्रबहादुर बस्नेत पनि पञ्चायतकालमा मन्त्री बनेका थिए — त्यसैले यो कदम व्यवसाय र राजनीतिक विरासतको मिश्रण पनि मानिन्छ।

    बर्लुस्कोनीसँग तुलना

    बस्नेतको यो कदमले धेरैलाई इटालीका चर्चित नेता र व्यापारी सिल्भियो बर्लुस्कोनीको सम्झना गराएको छ। बर्लुस्कोनीले सन् १९९४ मा ‘फोर्जा इटालिया’ (Go Italy) नामक पार्टी स्थापना गरी केवल तीन महिनामै चुनाव जित्दै प्रधानमन्त्री बनेका थिए।

    बर्लुस्कोनीको यात्रा संक्षेपमा:

    • मिलानका मध्यमवर्गीय परिवारमा जन्मिए, शुरूमै क्रुज जहाजमा गीत गाउने कलाकार थिए।
    • पछि निर्माण कम्पनी (Edilnord) र टेलिभिजन नेटवर्क (Telemilano) स्थापना गरी इटालीकै सबैभन्दा ठूला मिडिया टाइकुन बने।
    • ६.८ अर्ब डलरको व्यवसायिक साम्राज्य बनाएपछि राजनीतिमा प्रवेश गरे।
    • एक दशकभन्दा बढी इटालीका प्रधानमन्त्री बने — चार कार्यकालसम्म।
    • आलोचनाको बीच पनि मजदूर वर्गको समर्थनमा लोकप्रिय नेता बने।
    • जीवनको उत्तरार्धमा कानुनी विवाद, सेक्स स्क्यान्डल र करछलीको आरोपमा परे पनि राजनीतिक प्रभाव कायम राखे।
    • सन् २०२२ मा पुनः सांसद चुनिए, र २०२३ मा निधन भए पनि इटाली राजनीतिमा निर्णायक पात्रको रूपमा सम्झिन्छन्।

    बस्नेतका लागि संकेत

    नेपालमा पनि हालका पुराना दलहरूप्रति जनअसन्तोष बढ्दो छ — जुन अवस्था बर्लुस्कोनी उदाएको समयजस्तै छ। बस्नेतले पनि ठ्याक्कै चुनावपूर्व ४ महिना अघि पार्टी गठन गरेका छन्।

    अब प्रश्न उठ्छ —
    के विरेन्द्र बस्नेत नेपालका ‘बर्लुस्कोनी’ बन्न सक्छन्?
    के उनी व्यवसायिक सफलता जस्तै राजनीतिक नेतृत्वमा पनि सफल हुनेछन्?

    यो प्रश्नको उत्तर समयले नै दिनेछ। अहिलेका लागि भने बस्नेतको नयाँ राजनीतिक यात्रा नेपाली राजनीतिमा एक नयाँ प्रयोग र असामान्य मोडको रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij