ललितपुर । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ ।
प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का पूर्वउपमहासचिव जनार्दन शर्माले भन्नुभयो, “विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो । आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो ।”
उहाँले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भन्नुभयो, “क्रान्तिको मर्म र सहिदहरूको बलिदानलाई व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।”
त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ ।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij