काठमाडौँ । नेपाल राष्ट्र बैंकको कारणले विपन्न वर्गमा कर्जा प्रवाह घट्दै गइरहेको छ । पछिल्ला दुई वर्षयता बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा हुने विपन्न वर्गका लागि कर्जा प्रवाहमा कटौती भएको देखिएको हो ।राष्ट्र बैंकको पछिल्लो तथ्यांकले समावेशी वित्तीय प्रणालीको उद्देश्य बोकेर अघि बढेका बैंकहरू अहिले विपन्न वर्गमा कर्जा प्रवाह गरिने विषयलाई ध्यान नदिएको दर्शाउँछ ।
चालू आर्थिक वर्ष (आव) २०८२/८३ को भदौ मसान्तसम्ममा वाणिज्य, विकास र फाइनान्स कम्पनीहरू समेतको कुल ५६ खर्ब १७ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । त्यसमध्ये केवल ५.५२ प्रतिशत अर्थात् दुई खर्ब ७९ अर्ब आठ करोड ७० लाख रुपैयाँ मात्र विपन्न वर्गमा कर्जा प्रवाह भएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ अर्ब ६२ करोड ३० लाख रुपैयाँले घटी हो ।गत आवको सोही अवधिमा बैंक तथा फाइनान्सहरूले ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा कुल तीन खर्ब पाँच अर्ब ७१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यो ६.२२ प्रतिशत बराबर रहेको थियो ।
यसले विपन्न वर्गका लागि लक्षित कर्जाको हिस्सा क्रमिकरूपमा गएको देखाएको छ ।
वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा पनि अवस्था उस्तै रहेको छ । चालू आवको भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरूबाट ४९ खर्ब ९१ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएकामा ५.४० प्रतिशत अर्थात् दुई खर्ब ४२ अर्ब ७६ करोड ९० लाख रुपैयाँ मात्र विपन्न वर्गमा गएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १९ अर्ब ५५ करोड ८० लाख रुपैयाँले घटी हो । गत आवमा वाणिज्य बैंकहरूले कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ६.०३ प्रतिशत अर्थात् दुई खर्ब ६२ अर्ब ३२ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाहित भएको थियो ।
विकास बैंकहरूद्वारा हुने कर्जा प्रवाहमा पनि विपन्न वर्गका लागि कटौती गरिएका छन् । चालू आवको भदौ मसान्तसम्ममा विकास बैंकहरूले कुल पाँच खर्ब २२ अर्ब ८० करोड ४० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा ६.६१ प्रतिशत अर्थात् ३२ अर्ब नौ करोड ७० लाख रुपैयाँ मात्र विपन्न वर्गमा गएको देखिन्छ । गत आवको सोही अवधिमा विकास बैंकहरूले ७.७४ प्रतिशत अर्थात् ३७ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । यसरी विकास बैंकहरूबाट विपन्न वर्गमा प्रवाहित हुने कर्जा पाँच अर्ब ४७ करोड १० लाख रुपैयाँले घटेको छ ।
फाइनान्स कम्पनीहरूबाट प्रवाहित हुने कर्जामा विपन्न वर्गमा हुने प्रवाहको अवस्था अझ कमजोर देखिएको छ । चालू आवको भदौ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब तीन अर्ब ३६ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । तर यसमध्ये ५.४८ प्रतिशत अर्थात् चार अर्ब २२ करोड २० लाख रुपैयाँ मात्र विपन्न वर्गमा पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १.७९ प्रतिशत अर्थात् एक अर्ब ५९ करोड ४० लाख रुपैयाँले घटी हो । गत आवमा फाइनान्स कम्पनीहरूले एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा ७.२७ प्रतिशत अर्थात् पाँच अर्ब ८१ करोड ६० लाख रुपैयाँ विपन्न वर्गमा पुगेको देखिन्छ ।
राष्ट्र बैंकले समावेशी वित्तीय प्रणालीको अवधारणा अन्तर्गत विपन्न वर्गका लागि लक्षित कर्जा कार्यक्रमलाई वर्षौँदेखि प्राथमिकतामा राख्दै आएको छ । तर पछिल्लो तथ्यांकलेनीति र व्यवहारबीच ठूलो अन्तर रहँदै आएको देखाउँछ ।अर्थतन्त्र सुस्तताको मुख्य कारण नै साना तथा मझौला क्षेत्र धराशायी हुनु रहेको र कतिपय सन्दर्भमा राष्ट्र बैंकका प्रावधान रहेको पर्यवेक्षकहरूको भनाइ रहेको छ । यसले विपन्न क्षेत्रमा कर्जा विस्तार गर्न कठिनाइ हुने गरेको बैंकरको बुझाइ छ ।साना तथा मझौला व्यवसायलाई कर्जा दिनुपर्ने भए पनि चालु पुँजी कर्जा मार्गदर्शन आकर्षण हुने भएका कारण कर्जा विस्तार गर्न नसकिएकोमा बैंकरहरू सहमत देखिन्छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij