काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको परिस्थितिमा मानवीय मूल्य र नेपाली समाजको एकता जोगाउँदै मुलुकलाई समृद्ध दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित भेटघाट कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले, “‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रो राष्ट्रिय गन्तव्य हो, तर यस यात्रालाई रोक्न खोज्ने केही तत्व हावी भएका छन्,” भन्दै ती तत्वप्रति असन्तुष्टि प्रकट गर्नुभयो।
उहाँले असन्तुष्टिलाई सम्मानपूर्वक अभिव्यक्त गर्ने नेपाली परम्परा विपरीत अशिष्ट, अमर्यादित र हिंस्रक आन्दोलनको अभ्यास गलत भएको टिप्पणी गर्नुभयो। साथै, ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताउनुभयो।
त्यस अवसरमा अध्यक्ष ओलीले रेशम लामाद्वारा लिखित गीतिसङ्ग्रहको विमोचन पनि गर्नुभयो। उक्त गीतमा जेबी घिमिरे र प्रतिमा अर्यालको स्वर रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij