गुल्मी। यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पु¥याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो । सोही पत्राचारलाई आधार मान्दै रुरुक्षेत्र गाउँपालिका–१ को रिडीबजार, वडा नं ३ को पानीट्यांकी क्षेत्र तथा वडा नं ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घरटहरालगायतका संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
निर्माणमा ढिलाइ हुँदा क्षतिपूर्ति उपलब्ध गराउने काममासमेत ढिलाइ हुनसक्ने जनाउँदै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभी काठमाडौँमार्फत रु एक अर्ब ५० करोडको लागतमा सडक स्तरोन्नति गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडकखण्डमा आउँदो फागुन महिनासम्म कालोपत्र सम्पन्न गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij