काठमाडौँ । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई आयकर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको हाे । यकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।’
यो निर्णयले नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालको काम गर्ने कम्पनीले एमसीसी फन्डिङ (नेपाल सरकारको योगदानसहित)बाट प्राप्त आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुटका व्यवस्था गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij