काठामाडौँ । करदाता सेवा कार्यालहरुबाट प्रवाह भइरहेका सेवाहरु मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी यस्तो जनाएको हो ।
करदाता सेवा कार्यालयबाट सम्पादन हुने सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सूचनामा भनिएको छ ‘ यस विभाग अन्तर्गत सञ्चालनमा रहेका करदाता सेवा कार्यालयहरु खारेज भएको सम्बन्धमा जिल्ला स्थित विभिन्न सरोकारवालाहरुबाट विभिन्न प्रतिक्रिया प्राप्त भएको विषयमा यस विभागको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा स्पष्ट गर्न आवश्यक भएकोले यो सूचना सम्प्रेषण गरिएको छ ।
करदाता सेवा कार्यालहरुबाट प्रवाह भइरहेका सेवाहरु मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरु सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको छ ।’
साथै विभागले सेवा प्रवाहबारे थप जानकारी दिँदै सूचनामा भनेको छ ‘ स्थानीय तहबाट सो सेवाहरु सूचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवाहरु सम्बन्धित जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।’
साथै कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायत धेरै सेवाहरु अनलाईन प्रणाली मार्फत नै प्राप्त गर्न सकिने व्यवस्था हाल कार्यान्वयन मै रहेको जनाउँदै विभागका निर्देशक वासुदेव पौडेलले जारी गरेको सूचनामा थप भनिएको छ‘ यस विभाग तथा अन्तर्गतका कार्यालयहरुको सेवा प्रवाहलाई अझ करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरुप सेवालाई विकेन्द्रीकरण गर्ने व्यवस्था गरिएको तथा सेवा प्रवाहको वैकल्पिक व्यवस्था नभएसम्म सम्बन्धित करदाता सेवा कार्यालयहरुबाट सेवा सुचारु हुने हुँदा यो व्यवस्था कार्यान्वयनमा विभाग सम्बन्धित सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गर्दछ ।’

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij