काठमाडौँ । भारतले नेपाल पक्षलाई नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न प्रस्ताव गरेको छ । भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा सो प्रस्ताव राखेका हुन् । नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिवस्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन ।
सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर नेपाल फर्किएको छ । छलफलमा सहभागी एकजना अधिकृतले भने, ‘भारतीय गृह मन्त्रालयका सचिवले राखेको प्रस्ताव हामी गृह मन्त्रालयका सचिवसँग राख्छौँ । यताबाट सहमति भएपछि अभिलेख राख्ने विषय लागु गर्न सकिन्छ ।’
सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलसँग सशस्त्रका आईजी अर्यालले जेनजी प्रदर्शन हुँदा लुटिएका र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए । सिंघलले लुट र आतंकमा संलग्नहरूको फोटो सहितको विवरण पठाउन अनुरोध गर्दै छलफलमा भनेका छन्, ‘फोटो सहितको विवरण प्राप्त भएमा हामी नियन्त्रणमा लिन र सहयोग गर्न तयार छौँ ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij