काठमाडौँ ।नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाइएका सबै सीमा खारेज गरेपछि व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले शेयर धितो राखेर जति पनि कर्जा लिन सक्ने व्यवस्था मिलेको छ। तर सीमा हटे पनि दोस्रो बजारमा खासै प्रभाव नपरेको विश्लेषण भइरहेको छ।
विशेषज्ञहरूका अनुसार बैंकहरूको वास्तविक क्षमता भने कोर क्यापिटलको ४० प्रतिशत मा सीमित छ। यसले गर्दा सीमा खुला भए पनि बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था सिर्जना भएको छ। लगानीकर्ता सुशील लुनियाले पनि यही कारण बताउँदै कोर क्यापिटलको सीमा समेत बढाउन आवश्यक रहेको टिप्पणी गरेका छन्।
वाणिज्य बैंकहरूको कोर क्यापिटल ६ खर्ब रुपैयाँ रहेको छ, जसको ४० प्रतिशत अर्थात् करिब २ खर्ब ४० अर्ब रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा दिन सकिन्छ। अहिलेसम्म बैंकहरूले १ खर्ब १६ अर्ब रुपैयाँ मात्र प्रवाह गरिसकेका छन्, जसअनुसार अझै १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा दिन सकिने देखिन्छ।
तर सबै बैंकले समान रूपमा कर्जा नदिने भएकाले प्रभाव विविध देखिन्छ। नबिल बैंकले सबैभन्दा धेरै १६ अर्ब ७६ करोड कर्जा प्रवाह गरिसकेको छ भने सिद्धार्थ बैंकले पनि आफ्नै क्षमताको ८० प्रतिशतभन्दा बढी कर्जा दिइसकेको छ। केही बैंकमा प्रक्रियागत झन्झट धेरै भएकाले त्यहाँ माग कम छ भने सहज बैंकहरूमा कर्जा माग बढेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा नदिने गरेको छ भने नेपाल एसबीआई बैंकमा कर्जा प्रवाह अत्यन्त न्यून छ। असोजसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरिसकेका छन्, जुन तीन महिनामा ४ अर्ब २४ करोडले बढेको हो।
सीमा हटे पनि कोर क्यापिटलका कारण कर्जा प्रवाह सीमित हुन थालेपछि धेरै लगानीकर्ताले दोस्रो बजारमा तत्कालै ठूलो प्रभाव नपर्ने निष्कर्ष निकाल्न थालेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij