नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले नेपाली दर्शक मात्रै होइन, विश्वका क्रिकेटप्रेमीको पनि ठूलो ध्यान तानेको छ। प्रतियोगितामा १५ देशका ४२ विदेशी खेलाडी तथा प्रशिक्षकको सहभागिताले यसपटकको एनपीएल थप आकर्षक बनेको छ। भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, अष्ट्रेलिया, बेलायत, अमेरिका, नामिबिया, स्कटल्यान्ड, वेस्ट इन्डिजलगायत देशका स्टार खेलाडी सहभागी छन्।
आठ फ्रेन्चाइज टोलीमा विभाजित यी खेलाडीमध्ये विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्समा आफ्नो कौशल प्रदर्शन गर्दैछन्।
क्यानले नेपाली खेलाडीको पारिश्रमिक २ लाखदेखि २२ लाख रुपैयाँ तोके पनि विदेशी खेलाडीको तलब विवरण सार्वजनिक गरिएको छैन। फ्रेन्चाइजहरूले खेलाडी तथा एजेन्टसँग व्यक्तिगत ‘कमर्शियल कन्ड्याक्ट’ गरेर ल्याउने भएकाले पारिश्रमिक गोप्य राखिएको बताइन्छ।
गत सिजन भारतका शिखर धवन एक खेलका लागि झन्डै ४० लाखमा खेलेको उदाहरण छ। यस वर्ष पनि केही विदेशी खेलाडी मात्र केही खेल खेलेर स्वदेश फर्कने बताइए पनि उनीहरूको सम्झौता रकम खुलाइएको छैन।
क्यान निकट स्रोतका अनुसार, आवास, सेवा सुविधासहित विदेशी खेलाडीमा प्रति खेलाडी औसत ३५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यस हिसाबले करिब १५ करोड रुपैयाँ विदेशी खेलाडीमै खर्च भइरहेको देखिन्छ।
आईपीएलजस्तै खुला बोलकबोल प्रक्रिया नभएकाले एनपीएलमा विदेशी खेलाडी अनुबन्ध ‘गोप्य व्यापारिक सम्झौता’ बनी रहेको छ। अधिकारीहरूको भनाइमा, एनपीएल अहिले विकासको चरणमा भएकाले बढी रकम दिन नसकिने र थोरै पारिश्रमिकमा खेलाडीहरू सहमत हुने भएकाले सम्झौता सार्वजनिक नगर्न आग्रह नै आउने गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij