Logo

Nov 19 2025 | २०८२, मंसिर ३गते

Nov 19 2025 | २०८२, मंसिर ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ३ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ..

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ३ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ३ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    जेनजी आन्दोलनपछिका उच्छृङ्खल गतिविधि रोक्न गृह मन्त्रालयद्वारा ‘सहायता कक्ष’ सञ्चालन, सूचना दिन आग्रह

    काठमाडौँ । सरकारले जेनजी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि भएमा वा कुनै समस्या परेमा गृह मन्त्रालयले स्थापना गरेको सहायता कक्षमा जानकारी दिन अनुरोध गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले शान्ति सुरक्षा कायम गर्न र नागरिकको समस्या सम्बोधनका लागि उक्त अनुरोध गरिएको बताउनुभयो ।
     
    उहाँले मन्त्रालयले सार्वजनिक गरेको सहायता कक्षको मोबाइल नम्बर ९८५१३६०६०३ मार्फत फोन, एसएमएस, ह्वाट्सएप, भाइबरबाट जानकारी दिन सकिने पनि बताउनुभयो ।
     
    मन्त्रिपरिषद्को बैठक : संवैधानिक परिषद् संशोधनदेखि अनुदान स्वीकृति र प्रशासनिक नियुक्तिसम्म २५ निर्णय

    काठमाडौं । मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्तावहरूका आधारमा २५ वटा निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, गृह, भौतिक पूर्वाधार, पर्यटन, संघीय मामिला तथा स्वास्थ्य मन्त्रालयका विविध विषयगत प्रस्तावलाई अनुमोदन गर्दै सरकारका तर्फबाट ठोस कार्यान्वयन प्रक्रिया सुरु गरिएको छ।

    एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

    काठमाडौं: एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्कालाई नियुक्त गरेको छ । 
     
    प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
     
    पर्वतमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी–तोडफोडका दोषीमाथि कारबाही माग गर्दै किटानी जाहेरी

    पर्वत । गत भदौ २४ गते जेनजीको आवरणमा भइरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ । 

     

    नेपाली कांग्रेस पर्वत र नेकपा ९एमाले० पर्वतले आज संयुक्त रूपमा जाहेरी दिएका हुन् । नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीसहित पदाधिकारी र एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडीसहित पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर जाहेरी दर्ता गरेका हुन् । उनीहरूले आगजनी र तोडफोडमा संलग्नको तस्बिर, भिडियो फुटेज र विवरणसहित जाहेरी दर्ता गरेका हुन् ।

    १३२ दलका प्रतिनिधिसँग प्रधानमन्त्री सुशीला कार्कीले गरिन् छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिएकी छन । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेर सरकारका कामबारे दलहरुलाई जानकारी गराएकी हुन्।यस्तै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनका विषयमा दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन । निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन्।

    ६६९ मेगावाटको बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत

    काठमाडौं । सकाठमाडौं । लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजनाको लागि ९३ अर्ब ४७ करोड ६ लाख ३६ हजारको लगानी स्वीकृत गरेको छ ।
    प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार (आज) सम्पन्न भएको लगानी बोर्डको ६७औं बैठकले यस्तो निर्णय गरेको हो ।साथै बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को लगानी बोर्ड कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना पनि स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्र मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

    राजस्व  कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन

    दाङ ।आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड १६ लाख ३७ हजार सङ्कलन गरेको हो ।

    शेयर बजार : नेप्से परिसूचक ४.९८ अंकले घट्दै २५६१.०८ बिन्दुमा, ३.७७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ बिन्दुमा बंद भएको छ, जुन कुल ०.१९ प्रतिशतको गिरावट हो। बजार दिनभर उतार–चढावमा रहे पनि समापनमा नेप्से राताम्मै देखा परेको छ।

    शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

    काठमाडौँ  । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिनुभएको छ । 

     

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उहाँले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो ।

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ ।आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

     

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् ।यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij