Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ४  बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ४  बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ४  बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    प्रतिनिधिसभा चुनाव सुरक्षा : नेपाली सेना परिचालनका लागि मन्त्रिपरिषद्को अनुमति माग, राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस

    काठमाडौँ ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित बनाउन नेपाली सेना परिचालनका लागि सरकारलाई औपचारिक सिफारिस गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकले संविधानको धारा २६६(१) अनुसार नेपाली सेना परिचालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य–सचिव सुमनराज अर्यालद्वारा जारी विज्ञप्तिमा, निर्वाचनका बेला हुनसक्ने सुरक्षा चुनौती, जोखिम र सम्भावित अवरोधका क्षेत्रमा सेना परिचालन आवश्यक ठहरिएको उल्लेख छ।

    पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता

    काबुल ।गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको  शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

     

    रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ – देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट  स्वदेश फिर्ता  गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको  छ ।

    नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन

    काठमाडौँ ।नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

     

     

    प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पार्नुभयो ।

    तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आज गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले निर्वाचनका लागि आवश्यक तयारीका लागि सबै निकायलाई उच्च प्रतिबद्धताका साथ जुट्न निर्देशन दिनुभयो ।

    बञ्चरे डाँडामा फोहोर अवरोध अन्त्य : सरकार र स्थानीयबीच ११-बुँदे सहमति, व्यवस्थापन कार्य पुनः सुचारु

    काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य फोहोर व्यवस्थापन स्थल बञ्चरे डाँडामा लामो समयदेखि जारी अवरोध समाधानतर्फ अग्रसर भएको छ। बिहीबार सिंहदरबारमा स्थानीय बासिन्दा र सरकारबीच भएको छलफलपछि ११ बुँदे सहमति भएको छ। सहमतिसँगै स्थानीयले फोहोर ढुवानी तथा विसर्जनमा लगाएको अवरोध तत्काल हटाई व्यवस्थापन कार्य सुचारु गर्न तयार भएको घोषणा गरेका छन्।

    बाजुरामा भ्रष्ट्राचार प्रकरण : प्रसूति केन्द्र निर्माणमा अनियमितता, छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

     

    सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

    हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो । 

    मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरिने तयारी अन्तिम चरणमा

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने  चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षाको तयारी  अन्तिम चरणमा पुगेको छ। राष्ट्र बैंकले मंसिर भित्र ल्याउनुपर्ने भएकाले त्यसको तयारी अन्तिम चरणमा भइरहेको हो ।

     

    पहिलो त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकको तयारी चलिरहेको छ । स्रोतका अनुसार शुक्रबार नभए आइतबार सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको छ ।

    खल्ती ट्रान्स्फर लिग - खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका

    काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले "खल्ती ट्रान्स्फर लिग " नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

     

    अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।

    एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा NIC ASIA Share Loan योजना सार्वजनिक

    काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग अभ्यासद्वारा ग्राहककेन्द्रित आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा यस एन आई सी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA Share Loan को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

    डोल्पा (ठूलीभेरी) ।नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ । ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

    शेयर बजार : नेप्से परिसूचक०.९३ अंकले घट्दै २५६०.१५ बिन्दुमा, साढे ४ अर्ब बढीको कारोबार

    काठमाडौँ । बिहीबारको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९३ अंकले घट्दै २५६०.१५   बिन्दुमा  झरेको छ ।घटेको प्रवृतिमा भएको कुल कारोबार साढे चार अर्ब बढी रहेको हो ।

     

    नेप्सेले जनाए अनुसार कुल कारोबार ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २ सय ९९ रुपैया २४ पैसा बराबर भएको हो ।उक्त रकम बराबरको कारोबारका लागि १ करोड ४ लाख ४९ हजार २ सय ९६ कित्ता शेयरको खरिद बिक्री भएको छ ।

    मुस्ताङ भन्सारको पहिलो चार महिनामा पौने चार अर्ब बढी राजस्व संकलन

    काठमाडौँ ।  मुस्ताङको कोरला नाकाबाट आयात बढ्दा राजस्व संकलन बढेको छ। चालु आथिक वर्ष पहिलो चार महिनामा मुस्ताङ भन्सार कार्यालयले पौने चार अर्ब बढी राजस्व संकलन गरेको हो ।

     

    हालसम्म ३ अर्ब ७६ करोड ३७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरिएको जनाइएको छ ।कात्तिक महिनामा मात्रै ८४ करोड ५६ लाख ९० रुपैयाँ राजस्व संकलन भएको छ। जाडो बढ्दै आवागमन घट्न थाले पनि यसपटक नाका अझै सञ्चालनमै रहेको छ । चिनियाँ सामान भित्रिने क्रम नियमित भइ रहेको भन्सारका अधिकारीहरूले जनाएका छन् ।

    बारा जिल्लामा आज  दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज बिहीबार   दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ ।

     

    जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार एक विज्ञप्ति जारी गर्दै  सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारीसार्वजनिक गरेको हो ।

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडद्वारा  पौने १७ लाख बढी कित्ता सेयर बिक्री गरिँदै

    काठमाडौँ ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ८ कम्पनीमा आफ्नो नाममा रहेको १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री गर्ने भएको छ।

     

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निर्देशन दिएको पाँच महिनापछि बसेको बैठकबाट यस्तो निर्णय गरिएको छ । एनआरएनको सञ्चालक समितिले ७ कम्पनीमा रहेको संस्थापक र दुई कम्पनीमा रहेको साधारणसेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

    ७४ वर्षीय नीतिश कुमारद्वारा बिहारको मुख्यमन्त्रीका लागि १०औँ पटक शपथ

    काठमाडौँ ।बिहारको मुख्यमन्त्रीको रूपमा १० औँ पटक  नीतिश कुमारले शपथ   लिएका छन् ।  नीतिश कुमारले राज्यको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्रीको इतिहास बनाएका छन् । 

     

    हालै सम्पन्न विधान सभाको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारमा सत्तासीन भारतीय जनता पाटीसँगको गठबन्धन एनडीएमा सहभागी भइ चुनाव लडेका नीतिश कुमारको पार्टीले दोस्रो ठुलो दलको रूपमा चुनाव जितेको हो । भारतीय जनता पार्टी सबै भन्दा ठुलो दलको रुपमा स्थापित भएपनि नीतिश कुमारलाई समर्थन दिएपनि उनी मुख्यमन्त्री बनेका हुन् ।

    बिहीबार सुनको मूल्य बढेर  तोलामा दुई लाख ४३ हजार रुपैयाँ कायम

    काठमाडौँ । बिहीबार सुनको मूल्य बढेर  तोलामा दुई लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।   बुधबारको तुलनामा बिहीबार दुवै धातुको मूल्य बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ रुपैयाँले बढेको छ । बिहीबार एक तोला सुनको मोल दुई लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ रुपैयाँ कायम भएको छ ।

    आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

    काठमाडौँ ।  आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ ।  हालै सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । 

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

    आज दिउँसो १ बजे नेकपा एमाले केन्द्रीय सचिवालय बैठक ,यस्ता छन् छलफलका एजेन्डा

    काठमाडौँ । नेकपा एमालेले आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बस्न लागेको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।

     

    बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धमा विस्तृत छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन्। साथै, मङ्सिर ६ गते काठमाडौँमा गर्नेगरी तय गरिएको पार्टी प्रदर्शनको तयारी बारे पनि बैठकमा विचार–विमर्श हुने बुझिएको छ।

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij