काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जामा लगानी ४४.३८ प्रतिशतले वृद्धि भएको छ ।लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र र अन्य कर्जा असुलीमा समस्या बढ्दै गएको देखिएपछि वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा लगानी बढाएको देखिएको हो ।
वाणिज्य बैंकहरूको सेयर धितो कर्जा ४४.३८ प्रतिशतले बढेका बेला राष्ट्रियस्तरका विकास बैंकहरूको ४.५ प्रतिशतले वृद्धि भएको छ । अन्य क्षेत्रमा हुने लगानीका लागि कर्जाको माग न्यून रहेकाले सेयर कर्जामा बैंकहरूको लगानी विस्तार गर्ने मुख्य रणनीति बनेको बैंकरहरू बताउँछन् ।
यही क्रममा केही दिनअघि एनआइसी एसिया बैंकले ५० करोड रुपैयाँसम्मको सेयर धितो कर्जा प्रतिस्पर्धी दरमा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअनुसार व्यक्तिगत लगानीकर्ताले २५ करोड र संस्थागत लगानीकर्ताले ५० करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । सेयर कर्जा विस्तारमा प्रतिस्पर्धा बढ्दै गएपछि अन्य बैंकहरू पनि यस्तै योजना ल्याउने तयारीमा रहेको सम्बद्धहरूको भनाइ छ ।
नेपाली कर्जाबजार सुस्त भएको अवस्थामा सेयर कर्जा तुलनात्मक रूपमा जोखिमरहित मानिएको छ । घर–जग्गा धितोका कर्जा असुली हुन ढिलो लाग्ने, लिलामीमा जाँदा कानुनी प्रक्रिया झन्झटिलो हुने तथा गैरबैंकिङ सम्पत्ति बढ्ने समस्याले बैंकहरू धेरै तनावमा छन् । छिटो मूल्यांकन, सजिलो प्रक्रियासहित असुलीयोग्य भएकाले सेयर धितो कर्जालाई सुरक्षित विकल्पको रूपमा लिइएको छ ।
साउन–असोजमा मात्र २० वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरे । गत आवको सोही अवधिमा यो रकम ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij