Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

जनकपुरधाममा सीता–रामको स्वयंवर सम्पन्न, हेलिकप्टरबाट पुष्पवृष्टिसहित हजारौँ श्रद्धालुको सहभागिता

जनकपुरधाममा सीता–रामको स्वयंवर सम्पन्न, हेलिकप्टरबाट पुष्पवृष्टिसहित हजारौँ श्रद्धालुको सहभागिता

  • नकपुरधाम । त्रेतायुगमा भगवान श्रीराम र जानकीबीच भएको दिव्य विवाहको स्मरणमा मनाइँदै आएको विवाह पञ्चमी महोत्सवअन्तर्गत आज (मंगलबार) जनकपुरधाममा सीता–रामको ऐतिहासिक स्वयंवर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मिथिलाको सांस्कृतिक पहिचान झल्काउने यो पर्व जनकपुरधामस्थित रंगभूमि मैदानमा विशेष आतिथ्य, विधि–विधान र धार्मिक उत्साहसहित सम्पन्न भएको हो।

    त्रेतायुगमा राजा जनकले धनुष यज्ञमा श्रीरामले धनुष भाँचेर योग्यता प्रमाणित गरेपछि आयोजन गरिएको स्वयंवरको स्मरणमा प्रत्येक वर्ष विवाहोत्सवमा यो परम्परा दोहोर्याइँदै आइएको छ। आज जानकी मन्दिरबाट माता सीता–रामसहितको डोला र राम मन्दिरबाट निस्केको अर्को डोला नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा एकत्रित भएका थिए।

    डोलाहरूको मिलानपछि भगवान श्रीरामको डोलाले तीन पटक परिक्रमा गर्‍यो र पुनः नगर परिक्रमा गर्दै आफ्नो–आफ्नो मन्दिर फर्किने कार्यक्रम सम्पन्न भयो। यस अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद फुइटेल, नेपाली सेनाका प्रतिनिधिहरूसहित विभिन्न अतिथिहरूको उपस्थितिमा डोला जुलूसमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरी धार्मिक उल्लास थपिएको थियो।

    स्वयंवरपछि राति मैथिल संस्कारअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुने जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। उनका अनुसार विवाहमा राम–लक्ष्मण, भरत–शत्रुघ्न, जनक परिवार तथा श्रद्धालुबीच फूल–मालाको विनिमय, सप्तपदी, कन्यादानलगायतका परम्परागत विधिहरूको नाट्यरूपान्तरण गरी विशुद्ध धार्मिक वातावरण सृजना गरिने तयारी गरिएको छ।

    नेपाल–भारतका लाखौँको संख्यामा आएका श्रद्धालुहरूको सहभागितासहित सम्पन्न यो कार्यक्रम मिथिलाको सबैभन्दा ठूलो सांस्कृतिक तथा धार्मिक महोत्सवको रूपमा मानिन्छ, जसले मिथिलाको सांस्कृतिक गौरव र धार्मिक परम्परा आज पनि उस्तै भव्यताका साथ निरन्तर रहँदै आएको पुष्टि गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij