Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

कफिनमै जीवित भेटिइन् थाई महिला

कफिनमै जीवित भेटिइन् थाई महिला

  • बैङ्कक  (रासस/एपी) : दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले मन्दिरका कर्मचारीहरूलाई एकैछिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्‍याएको थियो । मन्दिरका महाप्रबन्धक तथा वित्तीय मामिला प्रमुख पैराट सुदथुपले सोमबार एपीसँग कुरा गर्दै ६५ वर्षीया उक्त महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको सुनेपछि घटनाले अनपेक्षित रूप लिएको थियो ।

    “म केही क्षणका लागि अचम्म परेँ र कफिन खोल्न भन्नुप¥यो । खोल्नेबित्तिकै सबैजना स्तब्ध भयौँ”, उहाँले भन्नुभयो, “उनी अलिक आँखा थोरै खोलेर कफिनको ढकढक्याउँदै थिइन् । उनले केही समयदेखि सहयोग माग्दै ढकढक्याइरहेको हुनुपर्छ ।” पैराटका अनुसार ती महिला करिब दुई वर्षदेखि ओछ्यानमै परिरहेकी थिइन् । स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि दुई दिनअघि उनले सास फेर्न छाडेकीजस्तो देखिएकाले भाइले मृत भनी कफिनमा राखेर बैङ्ककस्थित अस्पतालसम्म करिब ५०० किलोमिटर (३०० माइल) यात्रा गरेका रहेछन् । ती महिलाले पहिल्यै आफ्नो अङ्ग दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् । तर अस्पतालले आधिकारिक मृत्यु प्रमाणपत्र नहुँदा उक्त प्रस्ताव अस्वीकार गरिदिएको पैराटले बताउनुभयो । मन्दिरले निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउने भएकाले भाइले आइतबार मात्रै मन्दिरसँग सम्पर्क गरेका थिए । तर आवश्यक कागजात नहुँदा मन्दिरले पनि सेवा उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ । यही कुरा–मृत्यु प्रमाणपत्र कसरी प्राप्त गर्ने भन्ने बारे मन्दिरका अधिकारीहरूले बुझाइरहँदा–कफिनभित्रबाट ढकढक्याएको आवाज आएको थियो । त्यसपछि तुरुन्तै महिलाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्दिरले जनाएको छ । पैराटका अनुसार मन्दिरका मठाधीशले ती महिलाको उपचार खर्चसमेत बेहोर्ने प्रतिबद्धता जनाउनुभएको छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij