Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर ९ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर ९ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  मंसिर ९ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    अमेरिकाद्वारा सुडानका युद्धरत पक्षलाई युद्धविराम प्रस्ताव ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह

    अबु धाबी ।अमेरिकाले सुडानमा युद्धरत पक्षलाई युद्धविरामको पछिल्लो प्रस्तावलाई ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह गर्नुभएको छ।
     
    राष्ट्रपति डोनाल्ड ट्रम्पका अफ्रिकी प्रतिनिधिले मङ्गलबार मध्यस्थकर्ताहरूको तर्फबाट वाशिङ्गटनले प्रस्तुत गरेको सुडानको युद्धविराम प्रस्तावमा सहमत हुन आग्रह गर्नुभएको छ। समाचार तयार पार्दासम्म कुनै पनि पक्षले प्रस्ताव स्वीकार नगरेको उहाँले बताउनुभएको छ। 

     

    “हामी दुवै पक्षलाई बिना कुनै पूर्व शर्त प्रस्तुत मानवीय युद्धविरामलाई स्वीकार गर्न अपिल गर्दछौँ,” मसाद बोउलोसले युएईको राजधानी अबुधाबीमा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

    लैङ्गिक हिंसा अन्त्यमा प्रविधि र व्यवहार परिवर्तन महत्त्वपूर्णः प्रधानमन्त्री कार्की

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताउनुभएको छ ।  

     

     

    ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताउनुभयो । 

     

    मन्दाकिनी हाइड्रोपावरले माथिल्लो सार्दीखोला आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर सम्पन्न

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरेको छ। कम्पनीले २।९ मेगावाट क्षमताको माथिल्लो सार्दीखोला जलविद्युत आयोजना विकास गर्न एनएमबि बैंक लिमिटेडसँग वित्तीय समझदारी गरेको हो।

    नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर( निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले यसका लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा चयन गरेको छ। सम्झौतामा नेक्सजेन तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सनराइज क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    सरकारद्वारा चार सचिवको सरुवा : योजना आयोगदेखि रक्षा मन्त्रालयसम्म नयाँ अधिकारीको जिम्मेवारी

    काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय तथा निकायमा नयाँ जिम्मेवारी तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय तहका सचिवहरूको समायोजन गर्दै सरुवा निर्णय गरेको हो।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। योजना आयोगका सचिव गोकर्णमणि दवाडी पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि आयोगमा रिक्तता थियो।

    एमाले ११औँ महाधिवेशन : १३ उपसमिति संयोजकसहित सचिवालय बैठक बुधबार च्यासलमा बस्ने

    काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन सचिवालयको पहिलो बैठक आगामी बुधबार बिहान ८ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा महाधिवेशन तयारीका लागि गठन गरिएको १३ उपसमितिका संयोजकहरू सहित सचिवालयका सदस्यहरूले सहभागिता जनाउनेछन्।

     

    पार्टी सचिवालयको गत शुक्रबार सम्पन्न बैठकले महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी गठन गरेको थियो।

    बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी टुंगो, स्वदेशी लगानीमै निर्माण अघि बढ्ने

    काठमाडौं । दीर्घकालदेखि अलपत्र जस्तो अवस्थामा रहेका दुई ठूला जलविद्युत् परियोजना—१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त तथा १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) अन्ततः तयार भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार दुवै आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी मोडालिटी तय गरिएको हो।

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, मधेसका स्थानीय तहविरुद्ध धेरै उजुरी

    वीरगञ्ज । स्थानीय तहमा हुने बेथितिसम्बन्धी सबैभन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका पाइएको छ । 

     

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१र८२ मा स्थानीय तहसम्बन्धी मुलुकभरबाट १९ हजार ९३३ उजुरी परेकामा त्यसमा सात हजार ७२ अर्थात् ३५ दशमलव ४८ प्रतिशत उजुरी मधेस प्रदेशका मात्रै छन् । उजुरीमध्ये अधिकांश सार्वजनिक खरिदसँग सम्बन्धित छन्  ।

    मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

    काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । 

     

     

    यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।

    जनकपुरधाममा सीता–रामको स्वयंवर सम्पन्न, हेलिकप्टरबाट पुष्पवृष्टिसहित हजारौँ श्रद्धालुको सहभागिता

    नकपुरधाम । त्रेतायुगमा भगवान श्रीराम र जानकीबीच भएको दिव्य विवाहको स्मरणमा मनाइँदै आएको विवाह पञ्चमी महोत्सवअन्तर्गत आज (मंगलबार) जनकपुरधाममा सीता–रामको ऐतिहासिक स्वयंवर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मिथिलाको सांस्कृतिक पहिचान झल्काउने यो पर्व जनकपुरधामस्थित रंगभूमि मैदानमा विशेष आतिथ्य, विधि–विधान र धार्मिक उत्साहसहित सम्पन्न भएको हो।

    मन्त्री कूलमानको प्रमुख आतिथ्यतामा द फिफ्टिन्थ एसियन रिजनल अफ आईएईजीको शिखरसम्मेलन आयोजना हुँदै

     काठमाडौँ । द फिफ्टिन्थ एसियन रिजनल अफ आईएईजीको शिखरसम्मेलन आयोजना हुने भएको छ ।यो शिखरसम्मेलनको आयोजना काठमाडौँको म्यारियट होटलमा नोभेम्बर २७ देखि २९सम्म हुने आयोजक संस्था नेपाल सोसाइटी अफ इन्जिनियरिङ जिओलोजीलेले जनाएको हो ।

    शेयर बजार : नेप्से ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा, ५ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । मंगलबार सेयर बजारको नेप्से परिसूचक  ५.३२ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा पुगेको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।

     

    नेप्से बढे पनि कारोबार रकम घटेको तर   अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भएको हो ।

    सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री

    लुम्बिनी।गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताउनुभएको छ । उहाँले सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने मुख्य जिम्मेवारीलाई मूलमन्त्र मानेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारले त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएको र अब चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताउनुभयो । उहाँले विभिन्न बहाना बनाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक खपतका कुरा गर्नेहरुलाई कामले जवाफ दिने बताउनुभयो । “विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहीँ कतै सुनिएका छन्”, उहाँले भन्नुभयो, “सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ ।”

    बैंकहरूको ऋण ब्याजदर थप सस्तियो

    काठमाडौँ  । बैंकहरूको ऋण ब्याजदर थप सस्तिएको छ ।  वाणिज्य बैंकहरुको औसत आधार दर साढे ५ प्रतिशतमा आएको छ। आधार दर तल आएसँगै कर्जा थप सस्तिन पुगेको हो ।

     

    स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ। आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको ४.३६, राष्ट्रिय वाणिज्य बैंकको ४.५६ प्रतिशत र एभरेष्ट बैंकले ४.८५ प्रतिशतमा झरेको हो।

    आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो

    रसुवा। यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ ।

    म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

    म्याग्दी।सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण थालिएको हो । हिउँद सुुरु भएर नदीमा पानीको सतह घटेपछि निर्माण व्यवसायीले काम थालेको आयोजनाका इन्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । “ठेकेदारले पहिलो चरणमा खोलालाई डाइभर्सन गराउन थालेका छन्”, उहाँले भन्नुभयो, “खोला डाइभर्सनको काम सकेपछि नदी किनारमा पक्की पर्खाल निर्माणको काम सुुरु हुुन्छ ।”

    मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री

    मुस्ताङ। यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा रु ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो ।

     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij