काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय तथा निकायमा नयाँ जिम्मेवारी तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय तहका सचिवहरूको समायोजन गर्दै सरुवा निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। योजना आयोगका सचिव गोकर्णमणि दवाडी पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि आयोगमा रिक्तता थियो।
त्यस्तै, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
सरुवाको दोस्रो भागमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। रक्षा मन्त्रालयका पूर्वसचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि उक्त पद खाली थियो।
यस्तै, रिक्त बनेको भूमि मन्त्रालयको सचिवमा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेललाई सरुवा गरिएको छ।
सरकारले यो सरुवालाई प्रशासनिक कामकाजलाई सहज बनाउने र रिक्त रहेका पद तत्काल पूर्ति गर्ने उद्देश्यले गरेको बताइएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij