काठमाडौँ ।जेनजी आन्दोलनपछि अनौपचारिक रूपमा रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को श्रम तथा भिजिट भिसा अब पुनः खुला भएको छ। भिसा प्रक्रियामा भने कडाइ थपिएको छ, जसअनुसार अब यूएई जान चाहने सबै नेपालीले प्रहरीको चारित्रिक प्रमाणपत्र (पुलिस रिर्पोट) अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार भिसा खुलासँगै नेपाली कामदार तथा पर्यटकले पुनः भिसा पाउन सुरु गरेका छन् र केहीले आजै भिसा प्राप्त गरेका छन्। यद्यपि, यूएईले न त भिसा रोकिएको बेला औपचारिक सूचना दिएको थियो, न त पुनः खुलाएको औपचारिक जानकारी नेपाल सरकारलाई दिएको छ। तर भिसा जारी हुन थालेपछि रोक हटेको पुष्टि भएको संघले जनाएको छ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जेलबाट कैदी फरार भएको घटनापछि यूएईले नेपाली भिसामा कडाइ गर्दै अनौपचारिक रोक लगाएको बुझिएको छ। फरार व्यक्तिहरूबारे स्पष्टता खोज्ने क्रममा यूएईले भिसा प्रक्रियामा सतर्कता बढाएको थियो।
भिसा रोकिएको समयमा परराष्ट्र मन्त्रालय र यूएई सरकारबीच निरन्तर संवाद चलेको थियो। वैदेशिक रोजगार व्यवसायी संघले पनि श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै समस्या समाधानमा सक्रियता देखाएको थियो।
भिसा पुनः खुलासँगै यूएई जाने तयारीमा रहेका हजारौँ नेपाली कामदार तथा भ्रमणकर्ताको समस्या हट्ने अपेक्षा गरिएको छ। अब सबै आवश्यक प्रक्रिया पूरा गरी पुलिस रिपोर्ट सहित कागजात पेश गरेपछि मात्र यूएई प्रवेश भिसा प्राप्त गर्न सकिनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij